इरानी नेता जसले चिया पिउँदै श्रीमतीको हत्या गरेको स्विकारे

‘उसको आफ्नै किसिमको सोच्ने तरिका थियो जसले गर्दा उसको ज्यान गयो।’

इरानका पूर्व उपराष्ट्रपति तथा राजधानी तेहरानका मेयर मोहम्मद अली नजाफीले आफ्नी दोस्रो पत्नीको हत्याको कारण बताउँदै भने।

Advertisement

नजाफीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेदका लागि प्रस्ताव राखेका थिए, जुन उनले अस्वीकृत गरिदिएकी थिइन।त्यसपछि उनले श्रीमतीमाथि पाँच गोली चलाए जसमध्ये दुईवटा गोली उनलाई लाग्यो। प्रहरीका अनुसार एउटा गोली मुटुमा लागेको थियो।

आत्महत्या गर्ने सोचका निस्केका नजाफीले प्रहरीसमक्ष आत्मसमर्पण गरे। प्रहरी कार्यालयमा उनलाई क्यामेराहरूले भेटे।
इरानको सरकारी टेलिभिजनका क्यामेराले नजाफी प्रहरी कार्यालयतर्फ हिँड्दै गरेको दृश्य कैद गर्दै उक्त प्रकरणलाई ब्रेकिङ न्यूज जसरी प्रसारण गरिएको थियो।

सो प्रसारणपछि इरानमा न्यायको प्रकृतिबारे बहस सुरु गरिदिएको छ। उक्त प्रसारणमा प्रहरीहरूले नजाफीप्रति सम्मान देखाउँदै शिर निहुराएको र हत्याको अभियुक्तलाई सौहार्दपूर्ण अभिवादन गरेको देखाइएको छ। त्यसपछि प्रहरी अधिकारीहरूसँग तातो पेय पदार्थ पिउँदै गरेको दृश्य देखाइँदै गर्दा पृष्ठभूमिमा संवाददाताले घटनाको विवरण दिँदैछन्।

विवाद
नजाफीलाई शिष्ट व्यवहार गरिएको छ, जसलाई सामाजिक सञ्जालमा धेरैले रमदान व्रत सार्वजनिक रूपमा तोड्दा वा हिजाब नलगाउँदा गरिने कारबाहीसँग तुलना गरेका छन्। उनी भने हत्याको अभियोग स्विकार्दै थिए। धेरैले भने नजाफी प्रहरी कार्यालय पुगेको दृश्य कैद गर्न क्यामेरा त्यहाँ किन पुगे भन्ने प्रश्न गरेका छन्। क्यामराले कसरी हत्याका आरोपीसँग सीधा पहुँच पाए?

जवाफ सम्भवतः राजनीतिक छ। सुधारवादी राजनीतिज्ञको छवि बनाएका नजाफीलाई मेयरबाट राजीनामा दिनका लागि दबाब नदिँदासम्म राष्ट्रपति हसन रुहानीसँग उनको घनिष्ठ सम्बन्ध थियो।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तेहरानको एउटा विद्यालयमा जवान केटीहरूले इस्लाम धर्मको मान्यता विपरीत नृत्य गरेको भन्दै आलोचना भएपछि उनलाई राजीनामा गर्न लगाइएको थियो। सुधारवादी छविकै कारण नजाफी इरानमा सरकारी सञ्चार माध्यम इरीबसँग बलियो सम्बन्ध रहेको कट्टरपन्थी नेताहरूको निसानामा पर्ने गरेका बताइन्छ।

तर उनले श्रीमती किन मारे?

बहुविवाह र सम्बन्ध विछेद
“म उनलाई तर्साउन चाहन्थेँ। मैले उनीसँग सम्बन्धविच्छेदको प्रस्ताव समेत राखेँ। तर उनले त्यो स्वीकार गरिनन्। मैले गल्ती गरेँ,” नजाफीले न्यायिक अधिकारीहरूलाई भने। ३५ वर्षीय मीत्रा ओस्टाड ६७ वर्षीय नजाफीकी दोस्रो पत्नी थिइन्।

इरानमा बहुविवाहलाई गैरकानुनी नमानिने भए पनि नजाफीको दोस्रो विवाहले उनको सुधारवादी छविलाई असर पारेको थियो। बहुविवाह गर्ने प्रचलन गाउँमा सामान्य मानिने भए पनि सहरका शिक्षित वर्गमा भने यस्तो प्रचलन कम हुँदै गएको छ।

एक सफल राजनीतिज्ञ हुनुका साथै उनी परिचित विद्वान थिए जसले अमेरिकाको प्रख्यात विश्वविद्यालय एमआइटीमा अध्ययन गरेका थिए। उनका केही सुधारवादी धारका साथीहरू उनको दोस्रो विवाह गर्ने निर्णयमा सहमत थिएनन्।

सात महिना अघि तेहरानको मेयरको पदबाट राजीनामा गर्नुको पछाडि पनि यही विषयमा भएको आलोचना प्रमुख कारण रहेको बताइएको छ। बीबीसीको सहयोगमा

More News last news
Loading...