क्यानडा क्रिकेट लिगमा छानिए सोमपाल कामी, सन्दीप लामिछाने यसअघि नै छनौट

काठमाडौा । धेरै क्रिकेटप्रेमीको अनुमान थियो, सन्दीप लामिछानेपछि अन्तर्राष्ट्रिय व्यावसायिक क्रिकेटमा बिक्नसक्ने नेपाली खेलाडी सोमपाल कामी हुनेछन्। कामी नेपाली क्रिकेटमा एकनास स्तरीय प्रदर्शन गर्दै आफूलाई अब्बल खेलाडी साबित गर्दै आएका छन्।

बिहीवार भएको क्यानडाको ग्लोबल टी २० क्रिकेट लिगमा विनिपेग हक्सले छनोट गरेपछि कामी अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट खेल्ने लामिछानेपछि दोस्रो नेपाली खेलाडी बनेका छन्। कामीले भने, पहिलो सपना राष्ट्रिय टोलीबाट खेल्नु थियो। अबको लक्ष्य सधैँ देशलाई जिताउनु हो। यो नयाँ यात्राले भने व्यावसायिक खेल जीवनलाई अगाडि बढाउँछ।

Advertisement

ग्लोबल टी २० लिगको खेलाडी छनोटको ११औँ चरणका कामी परेका थिए। उनले आफ्नो भाउ तीन हजार डलर राखेका थिए। लिगमा प्रत्येक टोलीले पाँचजना एशोसियट देशका खेलाडी राख्नै पर्ने नियम छ। लामिछाने ६० हजार डलरमा एशोसियट खेलाडीहरूमध्ये छानिने पहिलो खेलाडी थिए।

कामीको विनिपेग हक्समा वेष्ट इन्डिजका ड्वाने ब्राभो, दक्षिण अफ्रिकाका जेपी डुमिनी र अष्ट्रेलियाका क्रिस लिन जस्ता स्टार खेलाडीहरु रहेका छन्। प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्ट १५ सम्म क्यानडामा आयोजना हुनेछ। लिगका लागि नेपालबाट १२ खेलाडीले प्रयास गरेका थिए।

पहिलो पटक विदेशी लिगमा छानिनुलाई कामीले क्रिकेट जीवनको एउटा सपना पूरा भएको बताएका छन् । उनले क्यानडामा विश्वका ठूला खेलाडीहरु माझ खेल्दा आफ्नो आत्मविश्वास झन बढ्ने बताएका छन्।य सअघि क्यारेवियन लिग लगायत अन्य लिगमा प्रयास गरेपनि कामी छानिन सकेका थिएनन्।

सन् २०१४ मा नेपाली क्रिकेटमा भविष्य खोज्दै कीर्तिपुर क्रिकेट मैदानमा पुग्दा कामी राम्ररी नेपाली भाषा बोल्न सक्ने थिएनन्।। तीब्र गतिमा बल फाल्न सक्ने उनको गजबको क्षमता भने थियो। गुल्मी घर भएका कामीका बुबा कामको सिलसिलामा भारतको पञ्जाबमा गएपछि कामीले त्यतै क्रिकेट सिकेका थिए।

नेपालका तत्कालिन प्रशिक्षक पुबुदु दशानायकेले उनको प्रतिभा मन पराए र विश्वकप छनोटमा टोलीमा समावेश गरे। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। अहिले उनी राष्ट्रिय टोलीका प्रमुख सदस्य बनिसकेका छन्।

अविस्मरणीय खेलहरू

सन् २०१४ मा मलेसियाविरुद्धको खेलमा उनले पाँच विकेट हात पारेका थिए। बलिङ सँगसँगै ब्याटिङ पनि राम्रो गर्नु उनको खुबी हो। हङकङविरुद्ध खेलेको टी २० अन्तर्राष्टिय खेलमा १०औं नम्बरमा ब्याटिङ गर्दै उनले ३१ बलमा ४० रन बनाएका थिए। सो स्थालमा ब्याटिङ गरेर सर्वाधिक रनको कीर्तिमान अहिले पनि उनकै नाममा छ। आइसीसीको विश्व वरीयतामा उनी टी २० अलराउन्डरमा ४०औं नम्बरमा छन्।

सन्दीप लामिछानेले सोमपाल कामी छनोट भएकोमा खुशी व्यक्त गरे

राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक जगत टमाटाका अनुसार कामी खेल प्रति निकै ढृढ र अनुशासित खेलाडी हुन्। टमाटा भन्छन्, ‘राष्ट्रिय टोलीमा उनले गरेको सुधार अन्य खेलाडी भन्दा भिन्न छन्। उनी नेपालले पाएको गिफ्टेड खेलाडी हुन्।’ हालै युएई विरुद्ध खेलेको एकदिवसिय अन्तर्राष्ट्रियमा उनले पाँच विकेटको अर्को उपलब्धि हात पारेका थिए।

लामिछानेको दोस्रो सिजन

लामिछाने भने यो वर्ष टोरन्टो नेसनल्समा अनुबन्धित भए। गत सिजनमा मोन्ट्रेल टाइगर्सबाट खेलेका लामिछानेको टोलीको भारतीय राष्ट्रिय टोलीबाट भर्खरै सन्न्यास लिएका युवराज सिंह छन्। लामिछानेले यसपटक आफूभन्दा कामी छानिएकोमा खुशी व्यक्त गरे। लामिछानेले भने, ‘धेरै भन्दा धेरै नेपाली खेलाडी विदेशी लिगमा छाउन् भन्ने मेरो सुरुदेखि नै चाहना हो। हामी दुई भएका छौँ। सङ्ख्या बढ्दै गए झन मज्जा आउनेछ।’

More News last news
Loading...