दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका निम्ति पद तथा गोपनियताको सपथ लिएका छन्।
हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले आमन्त्रित हजारौँ पाहुनाको उपस्थितिमा सपथ गराए।
मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन्। सूर्यास्तभन्दा केही अघि मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन्।
गत साता सम्पन्न चुनावमा मोदीको दल भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा पनि बढी सीटकासाथ बहुमत प्राप्त गरेको हो।
छिमेकी नेताको उपस्थिति
राष्ट्रपति भवनको खुला प्राङ्गणमा प्रधानमन्त्रीलाई सपथग्रहण गराइएको यो तेस्रो पटक हो।
भारतीय प्रधानमन्त्री मोदीले सपथग्रहण गर्दै भने, मैले भय वा पक्षपात, अनुराग वा द्वेषविना सबै व्यक्तिहरूप्रति संविधान र विधिअनुसार न्याय गर्नेछु।
मोदीको सपथ ग्रहण समारोहमा नेपाल सहित बाङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमारलगायतका सरकार प्रमुख र नेताहरू उपस्थित रहेका थिए।
तर मोदीले सन् २०१४ मा पहिलो पटक सत्तारोहण गर्दा निम्ता गरिएका पाकिस्तानका सरकार प्रमुख यसपटक निम्त्याइएका थिएनन्। समारोहमा बलिउड कलाकार, खेलाडी, उद्यमी र समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
