चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित

चीन । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्।

चीनले पहिला चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले त्यो प्रतिबन्ध अरू भाषामा पनि थपिएको हो। तर त्यसबारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियाले जनाएको छ।

Advertisement

एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले भनेको छ, “एप्रिलको अन्त्यतिर विकिमिडिया फाउन्डेशनले चीनमा विकिपिडिया खोल्न नकसिने निश्चित गर्‍यो। हाम्रो ट्राफिक प्रतिवेदन राम्ररी विश्लेषण गरेपछि सबै भाषामा विकिपिडियालाई बन्द गरिएको हामी पुष्टि गर्न सक्छौँ।”

प्रयोगकर्ताहरूको विना पारिश्रमिक योगदान गरेर सम्पादन गर्ने यो विश्वज्ञानकोशलाई बेलाबेलामा केही सरकारहरूले आफ्नो देशमा नखुल्ने बनाइदिन्छन्।यो बेवसाइटलाई सन् २०१७ मा टर्कीमा बन्द गरिएको थियो भने यो वर्ष भेनेजुएलामा बेलाबेलामा बन्द गरिएको थियो।

चीनमा एम्नेस्टी इन्टर्न्याश्नलको वेबसाइट, फेसबुक, ट्विटर र अन्य हजारौँ वेबसाइट तथा एपहरू खोल्न सकिँदैन।इन्टरनेटको प्रयोगलाई नियन्त्रित गर्न चीनले ‘ग्रेट फायरवोल अफ चाइना’ बनाएको छ। केही वर्षअघि चीनले गुगललाई पनि बन्द गरिदिएको थियो। पछि चिनियाँ भाषाको गुगललाई नियन्त्रित रूपमा सञ्चालन हुन दिइएको छ। बीबीसी

More News last news
Loading...