भारतीय चुनावमा नरेन्द्र मोदीका नयाँ अस्त्र काम लाग्लान् ?

काठमाडौँ । तेस्रो चरणको मतदानको अघिल्लो दिन सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कंग्रेसका नेताहरू चुनावी दौडाहामा व्यस्त रहे।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र गुजरातका विभिन्न चुनावी सभालाई सम्बोधन गरे भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका चुनावी र्‍यालीमा सहभागी बने राहुल गान्धी।

Advertisement

उत्तर प्रदेशबाट भारतको तल्लो सदन लोकसभामा सबैभन्दा बढी सांसदको प्रतिनिधित्व हुन्छ।विभिन्न राज्यमा एक पटकभन्दा धेरै चरणमा मतदान भइरहेको छ। तर धेरैको चासो प्रधानमन्त्री मोदीतर्फ केन्द्रीत छ।

जादु कति बाँकी?
यसअघि दुई चरणमा मतदान भएका अधिकांश क्षेत्रमा क्षेत्रीय दलको उपस्थिति पनि बलियो रहेको बताइन्छ।

आज (मङ्गलवार) मतदान हुन लागेका मध्य प्रदेश, राजस्थान, गुजरात, झारखण्ड र हरियाणा जस्ता प्रदेशमा भाजपा अघिल्लो चुनावमा बलियो थियो। जहाँ कंग्रेससँग उसको टक्कर हुने ठानिएको छ।

पाँच वर्षअघि धेरैलाई आश्चर्यमा पार्ने गरि लामो समयपछि बहुमतको सरकार बनाउने हैसियत सिद्ध गरेको भाजपामा उसबेलाको ‘जादु’ बाँकी छ?

कैयौंले त्यसप्रति आशङ्का गरिरहेका बेला नरेन्द्र मोदीको पाँच वर्षअघिको ‘लोकप्रियता’ ढल्नबाट जोगाउने चुनौतिपूर्ण अवसर पनि हो जारी चुनाव।

मोदीले दिल्लीमा देशको सत्तामाथि अधिकार जमाउनुअघि उनको व्यक्तित्व गुजरातको मुख्यमन्त्रीको रूपमा प्रान्तीय राजनीतिमा सीमित थियो।

त्यहाँबाट फड्को हानेर उनी सिधै राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा पुगेका हुन्। धेरैलाई उनको नेतृत्वको गुजरातको ‘विकासको कथा’ बाँकी भारतको निम्ति ‘लोभलाग्दो’ सपनाको रूपमा प्रचारित थियो। विशुद्ध धार्मिक मुद्दाको भरिया भनेर चित्रित भाजपाको चुनावी रथ हाँक्ने अवसर पाएपछि मोदीले विकासको सपनालाई मुद्दा बनाए।

पुराना मोदी
गत चुनावमा तुलनात्मक रूपमा कतिपय प्रदेशभन्दा पछि परेका र बेथितिले गाँजेको भनिने तर संसद्‍मा प्रतिनिधित्व धेरै रहेका उत्तर प्रदेश र बिहारसम्म टाढाको प्रदेश गुजरातमा चलेको मोदी-मन्त्रको प्रभाव देखियो।

भारतमा एउटा वृत्तले अधिकांश मुस्लिम मारिएको गुजरातको धार्मिक दंगालाई मोदीको जीवनको कालो धब्बाको रूपमा हेर्छ। तर सैयौं मानिस मारिएको उक्त दंगालाई हिन्दु तीर्थालु चढेको रेलमा गरिएको आगजनीको ‘जवाफ’ ठान्ने कट्टरपन्थी सोच पनि एकथरीको छ।

राम मन्दिर निर्माणको उत्कट अभिलाशा अझै जीवित रहेको देखिने उत्तर प्रदेश र बिहारका कट्टर बिचार राख्नेले त्यो दंगा रोक्न पहल नगरेको आरोप लागेका मोदीलाई नायक ठान्नु अस्वाभाविक पनि भएन। मोदी विकासका नायक र ‘हिन्दुत्वका गहना’ दुबै बने। तर मोदी पाँच वर्षपछि नयाँ रहेनन्, पाँच वर्षिय परीक्षणमा परिसकेका पुराना नेता भइसकेका छन्।

नयाँ हतियार
उनले नयाँ चुनावी हतियार प्रयोग गरेको देखिएको छ। उनले पाँच वर्षअघि पुरातनपन्थी नाराभन्दा भिन्न लाग्ने कंग्रेस मुक्त भारत, मेड इन इन्डिया, डिजिटल इन्डिया, मेक इन इन्डिया जस्ता, नारा अघि सारेका थिए। जसले जनजिब्रो समातेको देखियो। तर यसअघि भएको प्रदेश चुनावमा उनको दलले कैयौं प्रदेशमा झट्का बेहोर्नु परेको थियो।

जसलाई प्रारम्भिक परीक्षणमा उनीप्रतिको आकर्षण वा विश्वास घट्दै गएको रूपमा समेत लिइयो। अहिलेको चुनावमा उनले ‘मोदी छन् र सम्भव छ’ भन्ने नारा लगाउँदै आफूले अघि सारेका कामहरूको प्रतिरक्षा गरिरहेका छन्।

त्योभन्दा बढी प्राथमिकताका साथ उनले सेना, पाकिस्तान र हिन्दुत्वलाई चुनावी हतियारको रूपमा अघि सारेको पाइन्छ।आफ्नो चुनावी सभामा उनी पाकिस्तानलाई चुनौती दिँदै भन्छन्, – पाकिस्तानसँग रहेको परमाणु हतियारसँग डराउँदैनौं। हाम्रा परमाणु अस्त्र हामीले दिपावलीको निम्ति (तिहारमा पड्काउन) राखेका हैनौं।

विकास थियो ‘नायक’ हिजो – तर आज सभाहरूमा उनी दोहर्‍याइरहन्छन्, – मैले पाकिस्तानलाई भनेको थिएँ हाम्रो सिपाहीलाई अलिकति कोतरियो भने पनि बबन्डर हुन्छ। दुई महिनाअघि कश्मिरको पुलवामामा ४० जना सुरक्षाकर्मी मारिने गरि भएको आत्मघाती आक्रमणपछि भारतले आफ्नो सैनिक विमानले पाकिस्तानस्थित ‘आतंकवादीको शिविर’ नष्ट गरेको बताएको थियो।

‘घरभित्र पसेर कुटेको’
भारतीय सैन्य विमानले आफ्नो देशको हवाई सीमा अतिक्रमण गरेपछि उक्त विमान खसालेर चालकलाई नियन्त्रणमा लिएको पाकिस्तानको भनाइ थियो। पछि पाकिस्तानले भारतीय हवाई सेवाको उक्त विमानका चालकलाई भारतलाई बुझाएको थियो।

उक्त प्रकरण मोदीको एउटा मुख्य चुनावी मुद्दा बन्न पुगेको छ। उनले पाकिस्तानलाई उसकै ‘घरभित्र पसेर कुटेको’ र आफ्नो धम्कीपछि आफ्ना सेनालाई पाकिस्तानले फिर्ता गरेको चित्रित गर्ने गरेका छन्।

सेनाको ‘सहादत’ वा ‘साहस’ दुबैलाई चुनावी प्रचारको पूँजी बनाउन थालेपछि केही पूर्वउच्च सैनिक अधिकृतले राजनीतिकर्मीलाई सेनालाई चुनावी मुद्दा बनाउन नदिन राष्ट्रपतिलाई लिखित आग्रह नै गरे। निर्वाचन आयोगमा उजुरी पनि पर्‍यो। बीबीसी

More News last news
Loading...