काठमाडौं । सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल राउण्डको खेल तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एसिया छनोटको अन्तिम प्रतियोगिता जुलाई २२ देखि २८ तारिखसम्म सिंगापुरमा हुने भएको हो।
एसिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ। नेपालले कतारसँग २३ जुलाईमा खेल्ने छ। त्यस्तै दोस्रो खेलमा मलेसियासँग २४ जुलाईमा प्रतिस्पर्धा गर्ने नेपालले २७ जुलाईमा कुबेतसँग र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ।
एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो। उसले स्वतः ग्लोबल छनोटमा स्थान बनाएको छ।
ग्लोबल छनोटमा कति टिम ?
यूएईमा २०१९ अक्टोबरदेखि नोभेम्बरसम्म हुने ग्लोबल छनोटमा १४ टिमको सहभागिता रहनेछ। आईसीसीको विश्व बरियतामा ११औं देखि १६औं स्थानसम्म पर्ने टिमले स्वतः घटुवा भएर विश्वकपका लागि ग्लोबल छनोट खेल्नु पर्नेछ।
आईसीसीको बरियताबाट घटुवा हुँदै ग्लोबल छनोट खेल्ने टिममा स्कटल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमन, हङकङ र आयरल्यान्ड रहेका छन्। यी ६ टिमले विश्वकपका लागि विभिन्न महादेशबाट छनोट भएर आएका टिमसँग प्रतिस्पर्धा गर्नेछ।
एसिया, अमेरिका र अफ्रिकाबाट समान २–२ टिम विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। त्यस्तै, इष्ट एसिया प्यासिफिक र युरोपबाट समान १–१ टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।
यसरी विभिन्न महादेशबाट छनोट भएर आएका आठ राष्ट्र र आईसीसीको बरियताबाट घटुवा भएका ६ राष्ट्र गरी १४ राष्ट्रले विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्। यो छनोटबाट शीर्ष ६ टिमले २०२० को विश्वकप खेल्ने छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
