रुकुम पश्चिम । छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो। १७ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका बाबुले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखि बलात्कार गर्दै आएको भन्दै पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन्।
उनले गएको शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरीमा उल्लेख भएको डीएसपी खड्काले बताउनुभयो।
शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगई साथीकै घर बसेको अवस्थामा ती बाबुले छोरीलाई जबर्जस्ती घर लैजाने क्रममा बाटोमा रहेको अर्कै व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख गरिएको छ।
त्यस उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गाउँनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा गएको सोमबार बेलुकी ४ बजे पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिनुभयो।
पक्राउ परेका बाबुलाई जिल्ला अदालत रुकुमबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
