स्याङ्जा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल मुस्लिम संघ गण्डकी प्रदेश सभापति शाह मोहम्मद मियाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिमतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टी संगठन निर्माण, समावेशी प्रतिनिधित्व तथा मुस्लिम समुदायको राजनीतिक सहभागिताका विषयमा सक्रिय रहँदै आउनुभएका मियाँले कांग्रेसको १४औँ महाधिवेशनदेखि नै मुस्लिम समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा पहल गर्दै आएको बताएका छन्।१४औँ महाधिवेशनमा उनी स्याङ्जा क्षेत्र नं. १ बाट अल्पसंख्यक समूहअन्तर्गतमहाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
यसपटक कांग्रेसको १५औँ महाधिवेशनका लागि मुस्लिमतर्फ तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिमा मुस्लिमतर्फ तीन सदस्य रहने व्यवस्था छ। मियाँले पार्टीको विभिन्न तहमा समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै मुस्लिम समुदायको राजनीतिक सहभागिता र अधिकारका विषयलाई पार्टीभित्र थप सशक्त रूपमा उठाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेको बताएका छन्।
स्याङ्जा क्षेत्र नं. १ बाट यसपटक पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित मियाँले संगठन निर्माण र समुदायको राजनीतिक सहभागितालाई आफ्नो प्राथमिकतामा राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको अध्यक्षका रूपमा उनले प्रदेशका विभिन्न जिल्लामा संगठनात्मक गतिविधिको नेतृत्व गर्दै आएको उनको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
