राजविराज । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीले बालिकाको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो।
आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै जनही ६ महिनाको कैद सजाय पनि थप गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंङ्गानाले जानकारी दिए।
ढुङ्गानाका अनुसार बालिकाको हत्या गरेको आरोपमा जन्मकैद र हत्यापछि शव दबाउने अभिप्रायले खाँडो खोलामा बगाएकाले जनही ६ महिना कैद थपिएको हो।
रोजगारिका लागि साउदी अरब पुगेका ३० वर्षीय सूर्यनारायण मण्डल ०७३ असोज १६ गते घर फर्किदा श्रीमती रानी र छोरी प्रमिलालाई घरमा फेला नपारेपछि खोजी गरेका थिए। उनले श्रीमती र छोरीको खोजी गर्न माग गर्दै प्रहरीमा उजूरी दिएका थिए।
प्रहरीले रानी र उनका प्रेमी मालीलाई ०७३ असोज १२ गते काठमाडौंबाट पक्राउ गरेको थियो। तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम ढकालका अनुसार श्रीमान सूर्यनारायण सउदी अरबबाट घर फर्कने भएपछि रानीले प्रेमी मालीसँग सल्लाह गरी बालिकाको हत्या गरेकी हुन्।
पक्राउ परेका आरोपितले सूर्यनारायणलाई फोन गरी घर फर्कदै गरेको बताएपछि बालिकाको हत्या गरी भागेर प्रेमविवाह गरेको स्वीकार स्वीकार गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
