बीबीसी । भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ।
उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन्।
पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ। आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्नेछिन्। भारतमा एप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ। निर्वाचन हुने कुल ५४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन्।
उत्तर प्रदेशको महत्त्व
भारतको राजनीतिमा उत्तर प्रदेशलाई महत्त्वपूर्ण राज्य मानिन्छ। यहाँबाट जवाहरलाल नेहरूदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सात नेताहरू प्रधानमन्त्री बनेका छन्।
उत्तर प्रदेशका विभिन्न स्थानबाट गान्धी परिवारका सदस्यहरू निर्वाचनमा सहभागी हुँदै आएका छन्। राहुल गान्धी सन् २००४ देखि सो राज्यको अमेठीबाट निर्वाचित हुँदै आएका छन्।
सत्तारूढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष कांग्रेस दुवैले उत्तर प्रदेशका लागि विशेष निर्वाचन रणनीति बनाउने आकलन गरिएको छ।
गत संसदीय निर्वाचनमा भारतीय जनता पार्टी उत्तर प्रदेशका ८० मध्ये ७५ स्थानमा विजयी भएको थियो। मोदीले बनारसको निर्वाचन क्षेत्रबाट जितेका हुन्।
सन् १९८० को दशकसम्म उत्तर प्रदेशमा कांग्रेस पार्टीको वर्चस्व थियो। तर विभिन्न राजनीतिक कारणले गर्दा सो दलले त्यहाँ आफ्नो प्रभाव गुमाउन थाल्यो।
प्रियङ्का गान्धीलाई मैदानमा ओरालेर कांग्रेसले आफ्नो प्रभाव फिर्ता लिन खोजेको छ।
कांग्रेस नेता राजीव शुक्लाका अनुसार प्रियङ्का गान्धीबाट पार्टीलाई निर्वाचनमा उत्तर प्रदेशमा मात्र नभएर देशैभरि फाइदा पुग्ने बताएका छन्।
तर भारतीय जनता पार्टीले भने कांग्रेसको निर्णयप्रति व्यङ्ग्य गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
