धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको हो ।
त्यस्तै खनीयावास गाउँपालिका–४ का ६५ वर्षीय शमशेर घले र ६२ वर्षीया कोप्ची घलेको पनि पहिराले बगाउँदा मृत्यु भएको छ । उक्त पहिरोबाट चार जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको डिएसपी केसीले बताए । यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको छ ।
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ ।
इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
