बझाङ । बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृष्ण जोशीलाई बुधबार कालोमोसो दलिएको छ ।
गाउ“ सभा गर्नका लागि गाउँपालिकातर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने ठाउँमा उनीमाथि कालोमोसो दल्ने काम भएको प्रहरीले जनाएको छ । जोशी यस अघि साइपाल गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए ।
नेकपा (विप्लव) निकट व्यक्तिहरुले जोशीलाई आफूहरुले कालोमोसो दलेको भनेर सामाजिक सञ्जाल मार्फत जिम्मेवारी लिएका छन् ।
उनीहरुले जोशीले अनुदानको चामल महंगोमा विक्री गरेको आरोप लगाएका छन् ।
साइपाल गाउँपालिकाको लागि नेपाल सरकारले अनुदान कोटामा दिएको २ हजार क्विन्टल चामल मध्ये १ हजार ५ सय क्विन्टल चामल स्थानीयलाई नदिएर यार्सा संकलकहरुलाई बढी मूल्यमा विक्री गरेको आरोप विप्लवका कार्यकर्ताहरुले लगाएका छन् ।
यस्तै जोशीले कार्यालय व्यवस्थापनको लागि भएको खर्चमा पनि अनियमितता गरेको र सुधारका लागि सचेत गराउँदा पनि नमानेकोले कालोमोसो दलेर कारवाही गरिएको नेकपा (विप्लव) ले गठन गरेको जिल्ला जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
यता नायब सुब्बा राधाकृण्ण जोशीले विप्लवका कार्यकर्ताहरुले आफूलाई ५ लाख रुपैयाँ चन्दा दिनुपर्छ भन्ने दबाब दिएको र चन्दा नदिए पछि कालोमोसो लगाएर दुर्व्यवहार गरेको बताएका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
