चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लू प्रमाणित भएको छ । पछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लू प्रमाणित भएकोमा त्यस क्षेत्र आसपासलाई संकटग्रस्त क्षेत्र घोषणा गंरिएको छ ।
संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन् । प्रमुख डा. खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाँच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन् ।
किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन् । उनीहरुले नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै त्यसको विरोध गरेका हुन् ।
मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् ।
प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका कुखुरा र हाँस गरी १५० वटा मारेको थियो । कुखुराको सुली पनि सुरक्षितरुपमा व्यवस्थापन गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
