काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित आज पाँच जनालाई पक्राउ गरेको छ।
ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयरावज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानूनविपरीत बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरुसँग प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको एक थान बौद्ध धर्मग्रन्थ बरामद गरेको छ । सुन तथा चाँदीबाट लेखेको भनिएको उक्त धर्मग्रन्थ करीब तीन चार सय वर्ष पुरानो भनी रु १० करोडमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। अभियुक्तलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
