एजेन्सी । उत्तरकोरियाले आफ्नो मुलुकमा बन्दी बनाइएका तीन अमेरिकी नागरिकलाई रिहा गरिदिएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियो उत्तरकोरिया पुगेलगत्तै तीन अमेरिकी नागरिक रिहा भएका हुन् ।
आफ्ना नागरिक रिहा भएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत दिएका छन् । उनले विदेशमन्त्री माइकको उत्तरकोरिया भ्रमण लगत्तै आफ्ना नागरिक रिहा भएका र उनीहरुको स्वास्थ्य ठिक भएको जनाएका छन्।
उत्तरकोरियाले उनीहरुलाई बुधबार अपरान्ह २ बजे रिहा गरेको जनाइएको छ । रिहा अमेरिकी नागरिकलाई विदेशमन्त्री पोम्पियोले आफ्नो विशेष विमानमा सँगै लिएर फर्किएका छन् । विदेशमन्त्री माइक एन्ड्यूज एयर फोर्सको विमानमार्फत उत्तरकोरिया पुगेका थिए ।
उत्तरकोरियाको यो कदमबाट आफु उत्साहित भएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । उत्तरकोरियाको यो कदमले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच हुने भनिएको उच्चस्तरीय वार्ताका लागि थप वातावरण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
उत्तरकोरियामा केही समयदेखि तीन अमेरिकी नागरिकहरु किम हक–सङ, टोनी किम र किम डङ्–चुल बन्दी थिए। किम हकलाई उत्तरकोरियाले सन् २०१७ मा संदिग्ध रुपमा देश विरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ गरेको थियो भने टोनी किमलाई जासुसीको आरोपमा सन् २०१७ को अप्रिलमा पक्राउ गरेको थियो।
उनी प्योङयाङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर समेत हुन्। त्यस्तै किम डोंग चुललाई सन् २०१५ मा उत्तरकोरियाले पक्राउ गरेको थियो। उनी क्रिश्चियन पादरी हुन्। उनलाई उत्तरकोरियाले १० वर्षको काराबास सजाय सुनाएको थियो। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
