काठमडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपसभापतिमा विमलेन्द्र निधिलाई प्रस्ताव गर्ने तयारी गरेका छन्।
पछिल्लो पटक देउवाको रोजाइ निधिभन्दा पनि विजय गच्छदारतिर थिए तर, विधानमा निर्वाचित केन्द्रीय सदस्यबाट मात्रै पदाधिकारी मनोनयन गर्ने व्यवस्था भएका कारण निधिलाई नै उपसभापति बनाउने बाध्यतामा देउवा परेका हुन्।
आईजीपी प्रकरणमा सार्वजनिक विवादले देउवा–निधि सम्बन्ध चिसिएको थियो । महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई ल्याउने तयारीमा देउवा छन्।
तत्कालीन सभापति सुशील कोइरालाको कार्यसमितिमा खडका सहमहामन्त्री थिए। खुमबहादुर खडकाको निधनपछि उनको समूहमा रहेका नेताहरूलाई तितरवितर हुन नदिन देउवाले पूर्णबहादुरलाई महामन्त्री बनाउन लागेका हुन्।
सभापतिलाई पदाधिकारी मनोनयनको प्रस्ताव गर्ने अधिकार मात्रै छ। सभापतिबाट प्रस्तावित नाम निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ।
नाम प्रस्ताव गरेकै दिन अनुमोदन गराउने तयारीमा देउवा छन् । खुमबहादुरको निधनपछि निर्वाचित कार्यसमिति ६३ सदस्यीय छ।
जसमा देउवापक्षका ३५ र पौडेलपक्षका २८ जना छन्। पछिल्लो पटक देउवापक्षमा रहेका केन्द्रीय सदस्य चन्द्र भण्डारी त्यहाँबाट अलग्गिएका छन्। प्रस्तावित पदाधिकारी अनुमोदन गराउन देउवासँग सुविधाजनक बहुमत छ।
त्यसैकारण देउवा पौडेल र सिटौला पक्षको असहमतिबीच पदाधिकारी मनोनयन गर्न अग्रसर देखिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
