काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण कम्युनिस्ट गठबन्धन भएको ठहर गरेको । केन्द्रीय समितिको करिब डेढ महिनासम्म लम्बिएको बैठकले यस्तो निचोड निकालेको हो ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले हारको कारण वाम गठबन्धन र भारतीय नाकाबन्दीको खुलेर विरोध गर्न नसक्नु रहेको उल्लेख गरेका छन् ।
‘संघीय संसद र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धन नेपाली कांग्रेस हार्नुको मुख्य कारण बन्न पुग्यो । विपक्षी कम्युनिष्ट गठबन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो’, कांग्रेसले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘यसका साथै पार्टीले उम्मेदवारी चयनलाई प्रयाप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घात जस्ता अनुशासनहीन क्रियाकलाप देखिनु पनि हारको कारण बन्यो ।’
कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार निर्वाचनमा बेहोरेको हारको जिम्मा सामुहिक रुपमा लिने सहमति भएको छ । शनिबार अवरूद्ध केन्द्रीय समिति बैठक महासमिति भेला बर्षाको मौसमलाई मध्यनजगर गर्दै पार्टीले मिती तय गर्ने सहमति भएपछि बैठक सुचारु भएको थियो ।
निर्वाचनको हारको जिम्मावारी पार्टी सभापति देउवाले लिनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडलले लिएपछि शनिवार विहान ९ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । तर हारको जिम्मा सामूहिकरूपमा लिने निर्णय कांग्रेसले गरेको छ ।
बैठकले जेठ मसान्तमा जिल्ला सभापतिहरुको भेला गर्ने, भदौभित्र महासमिति बैठक बोलाउने, महासमितिमा पेस गर्ने विधान संशोधनका लागि समिति बनाउने, संसदीय समिति भंग गर्ने, कार्यसम्पादन समिति पुनर्गठन गर्ने र अनुशासन समिति पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले महामन्त्रीको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बैठकमा बोल्दै पार्टी सभापति देउवाले संविधान बनेपछि भारतको नाकाबन्दीको अरू दलले खुलेर विरोध गर्दा कांग्रेसले बोल्न नसक्नु पनि हारको अर्को कारण भएको उल्लेख गरेका थिए ।
कांग्रेस प्रवक्ता शर्माका अनुसार केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान साढे ८ बजे बस्ने भएको छ । त्यो बैठकमा सभापति देउवाले रिक्त रहेका उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि नाम प्रस्ताव गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
निर्वाचनको करिब पाँच महिनापछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो । गत ९ चैतदेखि निर्वाचन समीक्षाका लागि सुरु भएको बैठक झण्डै डेढ महिनासम्म चलेको थियो । यो बैठकमा नेताहरूले सभापति देउवा र उनको नेतृत्व शैलीको कडा विरोध गरेका थिए। – अन्नपूर्ण पोट दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
