काठमाडौं । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई माफी दिन पीडित परिवार तयार भएको छ।
पाकिस्तानका मोहम्मद लकी वासिफको परिवार उमेशलाई माफी दिन तयार भएको हो । उमेशका तर्फबाट माफी माग्न पाकिस्तानको फैसलवादमा रहेको वासिफको घर पुगेका सामाजिक अभियान्ता सरोज रायले वासिफको परिवार उमेशलाई माफी दिन तयार भएको फेसबुक मार्फत जानकारी गराउनुभएको छ।
सरोजले पीडित परिवारलाई ब्लड मनि दिने प्रस्ताव गर्नुभएको छ । पीडित परिवार ब्लड मनि लिन तयार भएको बताएपनि रकम कति भन्ने चाहिँ खुलाइएको छैन ।
हत्याको अभियोग लागेका उमेश यादव साउदीको जुवेल जेलमा रहेकाले अब आम माफीका लागि साउदीमा प्रक्रिया सुरु गरिने सरोजले पाकिस्तानबाट जानकारी गराएको परिवारले बताएको छ।
११ वर्ष अघि पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको अभियोगमा पक्राउ परेका उमेशलाई ६ वर्षअघि साउदीको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
