रोशन कार्की
काठमाण्डौं । सरकारी निकायमा कार्यरत हुँदा पदको दुरुपयोग गरी जनकपुरमा गुण्डागर्दी गर्दै आएका जिल्ला विकास समितिका पूर्वसहलेखापालले सरकारी जग्गा हडपेर आलिशान होटल बनाई सरकारी नीति नियमकै उल्लङ्घन गरेका छन् ।
पदमा रहँदा जिल्ला विकास समितिको बजेट हिनामिना र ज्यान मार्ने उद्योगमा संलग्न भएको भन्दै जिल्ला अदालत धनुषाद्वारा पक्राउ गरी कारबाही गर्नु भन्ने आदेश समेत दिइएका जीवनाथ चौधरीले जनकपुरमा रहेको प्रख्यात दुलाहादुलही मन्दिरको जग्गालाई अतिक्रमण गरी ‘सीता प्यालेस’ नामको होटल सञ्चालन गरिँदा समेत सम्बन्धित निकायबाट कुनै कारबाही हुनसकेको छैन ।
सो मन्दिरको अर्थात् जनकपुर रिङरोडभित्र मदिरा र माछामासुको व्यवसाय र खान समेत बन्देज लगाएको भए पनि सो होटलमा भने मदिरा र माछामासुको खुलेआम बिक्री हुने गरेको छ । जनकपुरका केही युवाहरुले उपलब्ध गराएको विवरणअनुसार दुलाहादुलही बेलाकुट्टी भगवान मन्दिरको जग्गा अतिक्रमण गरी मन्दिरको बीचमा होटल बनाई अवैध क्रियाकलाप समेत गराउँदै आएको पाइएको छ ।
गुठीको जग्गामा अतिक्रमण गरी घर बनाएको, अतिक्रमण गरी खेती गरेको, अतिक्रमण गरी जग्गा आफ्नो जग्गामा नापनक्सा गराएको र गुठी अधीनस्थ ऐलानी जग्गा व्यक्तिको नाउँमा दर्ता गराई चार किसिमको अतिक्रमण गरेको पाइएको छ ।
सबैभन्दा बढी ३० बिघा राजगुठीका जग्गामा विभिन्न व्यक्तिहरुले गैरकानुनी तवरबाट २०६० सालसम्म घर बनाई बसोबास गरेको पाइएको थियो । २०४६ सालदेखि २०६० सालसम्ममा ९० प्रतिशतभन्दा बढी नै अतिक्रमण गरिएको छ ।
अतिक्रमण भई घर बनाएर होटल सञ्चालन गर्नमा चौधरीले आफ्नो बाहुबल प्रयोग गरी अतिक्रमण गरेको पाइएको छ । मन्दिरको गुठी तैनाथी जग्गामा डरधम्की दिएर कबुलियतको कागज लेखी घर बनाएको समेत आरोप लागेको छ ।
विभिन्न समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार राममन्दिर, लक्ष्मण मन्दिर, कुवा स्थान, कुवा मठजस्ता मन्दिर आउँछन् भने दोस्रो नम्बरमा जानकी मन्दिर, रत्नसागर स्थान तथा दशरथ मन्दिरको जग्गा अतिक्रमण गरेका छन् ।
दाताका कृतिको रुपमा रहेका मठ घर, सत्तल, प्राङ्गणजस्ता ठाउँमा जीवराम चौधरीले मन्दिरको बीचमा अवैध रुपमा होटल सञ्चालन गरेको लामो समय बितिसक्दा समेत कुनै कारबाही हुनसकेको छैन । चौधरीले मन्दिरको सत्तल, पाटीपौवा र धर्मशालालाई भत्काएर सीता प्यालेस होटल बनाएका हुन् । गुठी संस्थान कार्यालयअन्तर्गत छुट र अमानत गरी २३ वटा गुठी मठहरु सञ्चालित छन् ।
गुठीमा हालको कानुनी वर्गीकरणअनुसार गुठी अधीनस्थ (मोही लाग्ने प्रकृति) गुठी तैनाथी (मोही नलाग्ने प्रकृतिको) गुठी रैतान नम्बरी (रैकर जग्गासरहको कानुनी हैसियत राख्ने र गुठी नम्बरी गरी चार प्रकृतिका जग्गा जमिनहरु पाइन्छन् ।
यस कार्यालयअन्तर्गत अमानतमा जनकपुरको राम मन्दिर, लक्ष्मण मन्दिर गुठी, वराही कुटी, कपिलेश्वर स्थान, कुपेश्वरनाथ मठ (कुवा), हनुमाननगर स्थान गुठी, रानीपाटी तोत्रादि मठ, रत्नसागर मठ, विरही कुटी, गिरनारी कुटी, विरख कुटी र राधाकृष्ण भगवान वीरपुर कुटी पर्दछन् ।
त्यसैगरी अमानतमा सुगा मधुकरही स्थान, तरही स्थान मठ, झोझीकटैया स्थान, कुमरौरा भगवती र बेलाकुटी पर्दछन् । छुट गुठीअन्तर्गत जानकी मन्दिर, इटहर्वा स्थान मठ, सीताकुण्ड, धनौजी मठ, सुब्बा कुटी धनुषाधाम र भोयल मठ पर्दछन् । यस कार्यालयअन्तर्गत ४९ वटा सार्वजनिक पोखरीहरु, २१ वटा निजी पोखरीहरु पर्दछन् ।
२०७१ वैशाख १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बगलको उपस्थितिमा बैठक बसी जनकपुर क्षेत्रमा रहेका रत्नसागर एवम् जानकी मन्दिर र अन्य गुठी जग्गा तथा मठमन्दिरको अतिक्रमण तथा हानि/नोक्सानी रोक्ने, अब आइन्दा त्यसरी अतिक्रमण हुन नदिने व्यवस्था मिलाउन ५ जेठ २०७१ भित्र गुठी संस्थानले कार्ययोजना बनाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पेस गरी कार्यान्वयनमा जाने, यसमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवले समन्वयकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्ने निर्णय गरिएको थियो । तर सो निर्णयलाई सरकारी निकायले कार्यान्वयन नगर्दा जीवराम चौधरीको धन्दाले तीव्रता पाएको छ ।
एकातर्फ ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालतले कारबाही गर्नू/गराउनू भन्दै गरेको फैसलालाई अपमान गर्दै अन्य जघन्य अपराध समेत गरेको खुलेको छ । जनकपुरमा हुने अधिकांश अवैध कार्यमा चौधरीको संलग्नता हुने गरेको समेत स्थानीय बासिन्दाको भनाइ छ । उनले मन्दिरको बीचमा सञ्चालन गरेको होटलको शुल्क समेत आफूखुसी तोकेका छन् भने लामो समयदेखि कुनै कर समेत सरकारलाई बुझाएका छैनन् ।
२०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले जनकपुर नगरपालिका क्षेत्रभित्र रहेका १४ वटा राजगुठीको जग्गाको स्थलगत अध्ययन गरी लगत खोज्ने प्रयास गरेको थियो । त्यसबेला राजगुठीका जग्गाको साबिक लगतअनुसार चार हजार छ सय १० बिघा १६ का दुई धूर लगतमा देखिएको थियो ।
त्यसमध्ये दुई हजार नौ सय ७२ बिघा ८ का ३ धूर २०६०/०६१ सम्म रैतान भइसकेको, बाँकी जिरायत जग्गा एक हजार छ सय ३७ बिघा १२ का १३ धूरमध्ये एक सय ७७ बिघा १३ का १९ धूर (मोही कायम) गुठी अधीनस्थ कटाई बाँकी कायम हुनुपर्ने एक हजार चार सय ५९ बिघा १७ का १४ धूर जग्गामध्ये दर्ता भएको पाँच सय ४७ बिघा ७ का चार धूर र दर्ताको कारबाही अघि बढाएको समेत गरी ७७ बिघा ८ का दुई धूर गरी जम्मा छ सय २४ बिघा १५ का छ धूर जग्गा मात्र एकीन भएको थियो ।
आठ सय ३५ बिघा जग्गा एकीन हुन बाँकी रहेको थियो । एकीन भएको जग्गा छ सय २४ बिघा १५ का छ धूरमध्ये ४३ बिघा ११ का ८ धूर जग्गा अतिक्रमण भएको, ६३ बिघा ९ का नौ धूर जग्गा सरकारी तथा अन्य संस्थाले उपयोग गरेकोले सो कटाई पाँच सय १७ बिघा १४ का ९ धूर जग्गा सुरक्षित देखिएकोमा जनकपुर नगरपालिकाभित्र दुई सय पाँच बिघा १८ का सात धूर जग्गा मात्र परेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनका अनुसार १२ वटा गुठीका ४० बिघा जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइयो । जानकी मन्दिर, राममन्दिर, रत्नसागर, दुलाहादुलही (बेलाकुट्टी) भगवान मन्दिरको २३ बिघा १ धूर गुठी तैनाथी जग्गा विभिन्न नौ सय ९६ व्यक्तिले अतिक्रमण गरेको विवरण पेस गरिएको थियो ।
यसैबीच जिल्ला अदालतले वारेन्ट जारी गरेका चौधरीलाई पक्राउ गर्न प्रहरीले खोजेपछि अहिले उनी फरार सूचीमा रहेका व्यक्ति अधिकांश जनकपुरमै बस्ने गरेको र उनैले चलाएको होटलमा भेटिने गरेको छ । प्राप्त जानकारीअनुसार जीवनाथलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो ।
रामानन्द युवा क्लबका पूर्वअध्यक्ष, मैथिली विकास कोष धनुषाका अध्यक्ष तथा होटेल सीता प्यालेसका सञ्चालक समेत रहेका चौधरीलाई अदालतले पक्राउ पुर्जी जारी गरी पक्राउ गर्न आदेश दिएको लामो समय बितिसक्दा पनि प्रहरीले पक्राउ गर्नसकेको छैन ।
ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । त्यसैगरी, जनकपुर ६ बस्ने ४५ वर्षीय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भई हाल जनकपुर ८ बस्ने वर्ष २६ को नवनित झा, जनकपुर ८ बस्ने वर्ष ३५ को आशुतोष झा भन्ने शशिभूषण झा, जनकपुर १० बस्ने वर्ष २७ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले वारेन्ट जारी गरेको भए पनि उनीहरु कारबाहीबाट बच्नलाई शक्तिकेन्द्र धाएको समेत आरोप उनीहरुमाथि लागेको छ ।
२०७४ पुस ७ गते धनुषा जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले उक्त आदेश दिएको थियो । २०७४ मंसिर २ गते जनकपुर ९ बस्ने प्रकाश मिश्रलाई जीवनाथ चौधरीको निर्देशनमा प्रतिवादी रितिकराज अग्रवाललगायतका व्यक्तिहरुले पेट र छातीमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश गरेको थियो ।
पक्राउ परेका प्रतिवादीहरुमध्ये रितिकराज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको भए पनि जीवनाथ भने अहिलेसम्म खुला रुपमा हिँडे पनि प्रहरीले फरार भएको भन्दै नियन्त्रणमा नलिएको मिश्रले बताएका छन् । पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जुदेवी अग्रवाललाई भने ४५ हजार रुपैयाँ धरौटी लिई अदालतले रिहा गरिसकेको छ ।
न्यायाधीश पौडेलले गरेको आदेशमा उल्लिखित तथ्यको आधारमा प्रतिवादीमध्येका रितिकराज अग्रवालको हकमा विचार गर्दा खाना खाजाको विषयलाई लिएर आफ्नो होटेलमा घाइतेसँग विवाद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा स्वीकार गरेको देखिएको, आफ्नो होटेलबाहिर मानिसहरु झगडा गरेको आफूले सुनेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिएको, जाहेरी, घाइतेको कागज, घटना विवरण कागज गर्नेमध्येका सागर यादव समेतको कागज र समग्र मिसिलको आद्योपान्त अध्ययन गर्दा प्रतिवादीमध्येका जीवनाथ चौधरीको निर्देशनमा यी प्रतिवादी रितिकराज अग्रवालले ज्यान मार्ने उद्देश्यले घाइतेको पेट/छातीमा छुरा प्रहार गरेको भन्ने देखिएको उल्लेख छ ।
घाइतेको घाउ चोटको अवस्था, घाउ चोट लागेको शरीरको भाग, अंग समेत संवेदनशील देखिन आएको सो आदेशमा उल्लेख छ । तसर्थ उल्लिखित आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन् भनी विश्वास गर्नसकिने मुनासिब आधार देखिएकोले पछि थप प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी रितिकराज अग्रवाललाई थुनुवा पुर्जी दिई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्न कारागार शाखा जलेश्वरमा पठाइदिनू भनी अदालतबाट आदेश गरिएको छ । तर मुख्य अभियुक्त जीवनाथलाई अहिलेसम्म पक्राउ गरी जलेश्वर पठाएको छैन ।
घाइते प्रकाश मिश्रका बुवा वेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले २०७४ मंसिर ८ मा प्रतिवादीहरु रितिकराज अग्रवाल र मञ्जुदेवी अग्रवाललाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न रहेका तथा घटना वारदातपछि भागी फरार रहेका अन्य प्रतिवादीहरु जीवनाथ चौधरी, पंकज महतो, आशुतोष झा भन्ने शशिभूषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई खोजतलास गर्न जाँदा हालसम्म फेला पर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले २०७४ पुस २ गते जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएसँगै उनीहरु फरार सूचीमा रहेको उल्लेख गरिएको छ ।
तर, फरार सूचीमा रहेका जीवनाथले माघ १० गते बुधबार सर्वोच्च अदालतमा देखिए पनि उनीलाई सुरक्षा निकायलले पक्राउ नगरेको अरोप प्रकाश मिश्रले लगाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको प्रतिवेदनकै आधरमा अदालतले फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।
२ मंसिर २०७४ मा राती अन्दाजी साढे ९ बजेको समयमा प्रतिवादी जीवनाथ चौधरीको नेतृत्वमा पंकज महतो, आशुतोष झा, नवनित झा समेतका अपरिचित व्यक्तिहरु आई जबर्जस्ती घरको ढोका खोली भित्र पसी जथाभावी रुपमा गालीगलौज गर्दै घरबाहिर रहेको फूलको गमलाहरुलाई तोडफोड गर्दै आज प्रकाशलाई नसिध्याई छाडिँदैन भन्दै जीवनाथ चौधरीले विवाद गरेको थियो भन्ने उल्लेख गरेको छ ।
सोही समयमा जनकपुर उपमहानगरपालिका वडा नं. ८ का निर्वाचित वडा अध्यक्ष रमेश ठाकुर फौदार निजहरुलाई कसैको घरमा आई यस प्रकारको अन्याय नगर भन्दै सबै जनालाई जाऊभन्दा निजहरु त्यहाँबाट गएको समेत उल्लेख गरिएको छ ।
छोरा बजारबाट फर्किने क्रममा विपक्षीहरुको होटलनिर पुग्दा ५/७ जना अँध्यारोमा लुकिरहेको व्यक्तिहरु तथा उल्लिखित विपक्षीहरु एक्कासि छोरालाई समाती भाग्न उम्किन नदिई घेरा हाली कुटपिट गर्न लाग्दा रितिकराज अग्रवालले चाकुछुरीले एक्कासि छोराको पेटमा हान्दा छोरा भुइँमा लडेको किटानी जाहेरी दिइएको थियो ।
घाइते छोरालाई तत्काल जनकपुर अञ्चल अस्पतालमा भर्ना गराई उपचार गर्न लगाउँदा छोरालाई मार्ने नियतले पेटमा छुरी प्रहार गरेको कारण स्थिति अत्यन्तै चिन्ताजनक देखी तत्काल चिकित्सकले यहाँ उपचार सम्भव नभएको भनी काठमाडौं लग्न सल्लाह दिएअनुसार एम्बुलेन्सबाट काठमाडौंस्थित नर्भिक अस्पतालमा आईसीयूमा उपचार भएको घाइते प्रकाश मिश्रको बुवा वेदानन्द मिश्रले दिएको जाहेरीमा उल्लेख छ । प्रतिवादीहरु सातै जनालाई पाँचदेखि १२ वर्षसम्मको कैद सजाय अभियोगपत्रमा मागदाबी गरिएको छ ।
प्राप्त विवरणअनुसार सो प्रकरण जिल्ला विकास समितिमा भएको भ्रष्टाचार प्रकरण रहेको उल्लेख गरिएको छ । जिविस धनुषामा कुल एक करोड १३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीवनाथ चौधरीसँगै १६ जना कर्मचारी र ७१ जना उपभोक्ता समितिहरु गरी कुल ८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जनकपुरमा जो कोही पनि जीवनाथ चौधरीमार्फत नै जिविस धनुषामा भ्रष्टाचार हुने आरोप लगाउँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
