अभिभावक बने पुष्पकमल दाहाल ‘प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपिल गरेका छन्।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताए।

Advertisement

उनले भने, ‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन शिक्षक, अभिभावकसहित सबैले भूमिका खेल्नुपर्छ।’

संविधान बनाउने जटिलता चिरेर शिक्षालाई मौलिक हकको रुपमा राखिएको उल्लेख गर्दै अब कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गराएका छन्।

मेघौलीका एकजना मुसहर र एकजना माझी समुदायका बालकलाई प्रचण्डले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका हुन्। अध्यक्षले यसरी विद्यालय भर्ना  गरेका बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन्।

पाँच वर्षका पत्रुस मुसहर शिशु कक्षामा भर्ना भएका छन् भने ९ बर्षका अरुण माझी कक्षा १ मा भर्ना भएका छन्। कक्षा १ मा भर्ना भएका माझीले आफू धेरै पढेर ठूलो मान्छे बन्ने आफूलाई बताएको अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा बताए।

उनले बालकलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन अभिभावक र शिक्षकलाई आग्रह गरेका थिए। आफूले पनि विद्यालय भर्ना गरिएका बालकहरुको शैक्षिक अवस्थाको बारेमा बेलाबेला जानकारी लिइरहने बताए।

More News last news
Loading...