काठमाडौं । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन्।
केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन्।
दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो।
३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो । तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए।
समायोजन प्रक्रिया नै सुरु नहुँदा समस्या
एकीकरणका बेला जनाएको प्रतिबद्धता पूरा गर्न कांग्रेसले चासो नदिएपछि नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरू बताउँछन्।
विधानले केही बाधा पारेको भए महासमिति बैठकबाट समाधान गरी समायोजन गर्ने भने पनि अहिलेसम्म महासमिति बैठक नबोलाउँदा एकीकरणमा आएका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन उपाध्यक्ष रामजनम चौधरीले बताए।
अहिलेसम्म कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट निर्वाचित गच्छदारलाई दलको उपनेतामा मनोनयन र आमन्त्रित केन्द्रीय सदस्यका रूपमा केन्द्रीय समितिमा प्रवेश दिनुबाहेक अन्य कुनै नेतालाई जिम्मेवारी दिएको छैन।
परासीमा भने तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष सुवास गिरीलाई उपसभापति दिएर समिति एकीकरण गरिएको छ। – नयाँ पत्रिका दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
