कतार । कतारको स्विस इन्जिनियरिङ फर कन्ट्र्याक्टर (डब्लुएलएल) कम्पनीमा कार्यरत सात जना नेपालीलाई नेपाली दूतावासको प्रयासमा नेपाल फर्काइएको छ।
जीतबहादुर बिक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई दूतावासले नेपाल फर्काएको हो।
उनीहरुलाई यो कम्पनीले फकाएर खाली कागजमा सही गर्न लगाएको र पछि त्यही खाली कागजमा ९ हजार रियाल बुझेको भनी भरपाई गराएको थियो।
त्यही भरपाईको आधारमा कम्पनीले उनीहरुलाई अदालतमा मुद्दा हालेको दूतावासले जारी विज्ञप्तीमा उल्लेख छ। साथै कम्पनीले उनीहरुलाई कम्पनी छाडेर भागेको आरोपमा प्रहरीमा उजुरी गरेर कतार बाहिर जान प्रतिबन्ध लगाएको थियो।
नेपाली दूतावासको पहलमा कतार सरकारले त्यसरी मुद्दामा परेका सात जनालाई विशेष निर्णय गरी घर जान पाउने अनुमति जारी गर्न निर्देशन दिएको हो। पीडित कामदारलाई गएको शुक्रबार उद्धार गरी नेपाल फर्काइएको छ।
दूतावासले यो कम्पनीमा कामदार पठाउन रोक्न र आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
