पोखरामा फुड अर्डर र डेलिभरी सेवा सहित फुडमुडले दिने भो यस्तो सुविधा

पोखरा । पोखरामा अनलाइन ‘फुड अर्डर एण्ड डेलिभरी’ सेवा सुरु भएको छ । फुडमुड प्रालिले पोखरामा अनलाइनकै माध्यमबाट खाना तथा खाजा घर, अफिस तथा अन्य कुनै पनि ठाउँमा पु-याउने सेवा सञ्चालनमा ल्याएको हो।

आम मानिसहरुको बढ्दो व्यस्थतालाई ख्याल गर्दै सेवा सञ्चालनमा ल्याइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फुडमुडडटकमडटएनपी foodmood.com.np मा लगअन गरी खाजा तथा खाना अर्डर गर्न सकिने प्रालिका निर्देशक सुशील पौडेलले जानकारी दिए ।

Advertisement

‘ट्राफिक जाम तथा व्यस्तताले समयमा नै रेस्टुरेन्ट पुग्न र अर्डरलाई कुरेर बस्न समयको अभाव हुन्छ,’ उनले भने, ‘अब त्यो झन्झटलाई हामीले मुक्ति दिनेछौं ।’ पोखरा तथा लेखनाथ क्षेत्रका ग्राहकलाई खाना तथा खाजा रेस्टुरेन्टकै मेनुमा उपलब्ध गराइने पौडेलले जानकारी दिए।

‘थर्मो व्यागको प्रयोग गरेर खानेकुरा पु¥याउँदा रेस्टुरेन्टकै तापक्रममा कायम राख्न सकिन्छ,’ उनले भने, ‘अनलाइनमा भिजिट गर्नेहरुका लागि अनलाइन बुकिङ र अनलाइन चलाउन नजान्ने, नभ्याउने तथा इन्टरनेट सुविधा नहुँदा फोनबाट पनि सेवा लिन सकिने व्यवस्था मिलाएका छौं ।’

पोखराका २८ वटा रेस्टुरेन्टसँग प्रालिले समन्वय गरेको छ । २८ वटा रेस्टुरेन्ट मध्ये जुनसुकै रेस्टुरेन्टको खाना तथा खाजा अर्डर गर्न सकिने पौडेलले बताए । ‘बिहान ११ बजेदेखि साँझ ७ः३० बजेसम्म अर्डर लिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘अर्डर गरेको ४५ मिनेटभित्रै हामीले पोखरामा जहाँ पनि अर्डर पु¥याउन सक्छौं ।’

ग्राहकले ४ वटा अप्सनमा अर्डर गर्न सक्नेछन् । तत्कालै डेलिभर गर्ने, केही समयपछि, अर्डरलाई तयार पारेर राखी आफै लिन आउने र अर्डर गरेर खानका लागि मात्रै रेस्टुरेन्ट जान सकिने अर्डर अप्सन छन्।

बिल मुक्तानी तत्कालका लागि डेलिभरी गरिसकेपछि मात्रै गर्नसकिने व्यवस्था मिलाइएको पौडेलले बताए। कुनै पनि रेस्टुरेन्टको प्रमोसन तथा डिजिटल प्रविधि अपनाउन पनि सहयोग तथा काउन्सिलिङ सेवा प्रदान सुरु गरिएको उनले जानकारी दिए।

‘नेपालमा अनलाइन बिजनेस काठमाडौं केन्द्रित भइरहेको अवस्थामा हामीले पोखरामा यो सेवा सञ्चालनमा ल्याएका छौं,’ उनले भने । फुडमुड प्रालिले पोखरासँगै चितवनबाट पनि सेवा सञ्चालन गरिरहेको छ।

 

More News last news
Loading...