काठमाडौँ । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन्।
विहिबार बिहान सिद्धिचरण नगरपालिका-३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा भिडियो खिचेका थिए। उनले सो भिडियो १ लाख रकम नदिए सार्वजनिक गर्दिने बताएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन्। प्रहरीले उनीहरुविरुद्ध म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ।
घटनाबारे शिक्षक मेहता के भन्छन् ?
जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा युवाहरुले भिडियो र तस्बिर खिचेर सार्वजानिक गर्ने भनेपछि प्रहरीमा पुगेका शिक्षक मेहताले आफुले कुनै गलत काम नगरेको जिकीर गरेका छन् । ‘मैले कुनै गलत काम गरेको होईन’ शिक्षक मेहताले भने, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनिहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उनको तर्क छ ।
शिक्षक मेहताले विहिबार सदरमुकामको एक ल फर्ममा पुगेर आफुलाई कारबाही नहुने गरि उजुरी लेखिदिन आग्रह गरेको समेत खुलेको छ। स्थानीयले आफु गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन्।
के भन्छ प्रहरी ?
आफू सवार मोटरसाईकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।
‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ।’ शर्माले भने, ‘रकम असुल्नु गैरकानुनी कार्य हो, त्यसैले उनीहरुविरुद्ध मुद्धा चलाइयो।’ केही दिन अघि त्यस क्षेत्रमा चोरी समेत भएको र लगत्तै रकम असुल्न खोजेको उजुरी आएपछि उनिहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । प्रहरी प्रमुख शर्माले सार्वजनिक स्थलमा अश्लिल कार्य गरेको भनिएका शिक्षक मेहता माथि पनि अनुसन्धान गरेर कारबाही गर्ने बताए।
शिक्षकको यौन काण्डपछि प्रहरीमा खैलाबैला
शिक्षक मेहताको यौन काण्ड सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा खैलाबैला मच्चिएको छ। स्थानीयले प्रहरीका घुमुवाले शिक्षकसँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोवाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन्। शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिटसमेत गरेको उनीहरुको आरोप छ।
भिडियो डिलिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले अनुसन्धानका लागि अर्को मोवाइलमा भिडियो सार्दा डिलिट भएको बताएका छन्। नियतले नभइ अर्को मोवाइलमा पढाउने क्रममा भिडियो हटेको भण्डारीको दाबी छ।
स्थानीयले प्रहरीका घुमुवाबाट यसअघि पनि पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भलाकाजी भण्डारीलाई जिम्मेवारी परिर्वतन गरेको जनाएका छन्। शर्माले गुनासा आएपछि आफ्नै निगरानीमा राखेर घुमुवा परिवर्तन गरेको बताए। नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
