पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाउने दाउमा नेपाल

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीसँग खेल्दैछ।

सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवसीय मान्यताका लागि हो।

Advertisement

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बीको चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्नेछ। नेपालका लागि यो मैदान नयाँ हो।

यस खेलमा नेपाल विजयी भएमा एकदिवसीय मान्यताका लागि नजिक हुनेछ।

बिहीबारै समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ। त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवसीय मान्यता पाउनेछ।

तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ।

बिहीबार हुने दुवै प्लेअफमा पराजित हुने टोली डिभिजन टू मा घटुवा हुनेछन्।

हेट टू हेडमा नेपाल पछाडि
नेपाल र पपुवा न्यूगिनीबीच अहिलेसम्म तीनवटा मात्र एकदिवसीय खेल भएका छन् । जसमा नेपालले एउटा पनि खेल जित्न सकेको छैन।

नेपाल र पपुवा न्युगिनी पहिलो पटक २००५ मा मलेसियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा भिडेका थिए । जसमा नेपाल ७० रनले पराजित भएको थियो।

त्यसपछि २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पिएनजीसँग २ विकेटले पराजित भएको थियो।

त्यसै प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पिएनजीसँग ३ विकेटले पराजित भएको थियो । पीएनजी एकदिवसीय मान्यता पाएको टोली हो।

पिएनजीविरुद्ध उत्रँदा नेपालले ब्याटिङमै सुधार गर्नुपर्ने देखिन्छ । जिम्बाबेमा यसअघिका चार खेलमा नेपालको ब्याटिङपंक्तिले सन्तोषजनक प्रदर्शन गर्न सकेन । नेपालले समूह चरणमा तीन खेलमा पराजय ब्यहोर्दा मुख्य समस्या ब्याटिङमै देखिएको थियो।

ब्याटिङमा पनि नेपालको ओपनिङ निकै खराब देखिन्छ । नेपालको ओपनिङ जोडीले पछिल्लो ११ खेलमा सबैभन्दा धेरै साझेदारी गरेको ३८ रनको हो, जुन डिभिजन टू को फाइनलमा युएईविरुद्ध थियो।

पिएनजीका ओपनर टोनी उरालाई सस्तैमा आउट गर्न सके नेपाली बलरले दबाब दिन सक्नेछन । जारी प्रतियोगितामा उराले स्कटल्याण्ड विरुद्ध १ सय ५१ रनको पारी खेलेका थिए । साथै उनी यस प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन । उनले अहिलेसम्म १८८ रन बनाएका छन्।

नेपालका लागि कप्तान पारस खड्का र युवा लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन निर्णायक हुन सक्छ । कप्तान खड्काले समूह चरणको खेलमा उत्कृष्ट व्याटिङ गरेका थिए । त्यस्तै समूहको अन्तिम खेलमा हङकङलाई हराउँदा सन्दिप लामिछानेले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए।

More News last news
Loading...