द्वन्द्वग्रस्त मुलुक सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो।

उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन। सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन। उनको शव स्थानीय अस्पतालमा बेवारिस छ।

Advertisement

८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो। दूतावासमा यसको सूचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यवस्था दूतावासले अझै मिलाउन सकेको छैन।

पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफूहरू सिरियामा बन्धक बनाइएको भन्दै एजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरूकोउद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ।

उल्लिखित ३ घटनाले पुष्टि गर्छ, द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन्। उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन। द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ। तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ।

द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले कान्तिपुरलाई टेलिफोनमा जानकारी दिए । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने ।

सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । ‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्‍याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्‍याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

More News last news
Loading...