काठमाडौं । अन्ततः संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने निर्णय गरेको छ।
फोरमको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
मंगलबार बसेको संघीय फोरमको पदाधिकारी बैठकले पार्टीमा सहभागी हुने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरशियाले जानकारी दिए।
‘पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ,’ उनले डिसी नेपालसँग भने, ‘अब सरकारमा सहभागी हुने विषयमा विवाद रहेन।’
बैठकले सरकारमा पार्टीको हैसियत, मन्त्रालय बाँडफाँड र कसको नेतृत्वमा जाने भन्ने विषय टुंगो लगाउने जिम्मा भने नेतृत्वलाई दिएको छ।
संभवतः आजै अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनका नेताहरुसँग छलफल गर्नेछन्।
यसअघि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पटक पटक छलफल भएको थियो।
वाम गठबन्धनले फोरमलाई दुई मन्त्रालय दिन सहमति जनाइसकेको छ। तर फोरमले आफूले तीन मन्त्रालय पाउनु पर्ने, बरियाताक्रममा प्रधानमन्त्रीपछिको दोस्रो हैसियत र उपप्रधानमन्त्रीको दाबी गरिरहेको छ।
सरकार र फोरमबीच फोरमले उठाउँदै आएको मुख्य विषय संविधान संशोधनकालागि सरकारले सकारात्मक प्रतिक्रिया दिएपछि फोरम सरकारमा सहभागी हुन सहमत भएको हो।
सरकारमा सहभागी हुनुपूर्व आफ्ना मागका विषयमा लिखित सम्झौता गर्न पदाधिकारी बैठकले नेतृत्वलाई सुझाव पनि दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
