काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ । भर्खरै जिम्बावेले टस जितेर पहिले ब्याटिङ गरेको छ ।
सुरुवातमै जिम्बावेका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भएका छन् । ओपनर बलरका रुपमा सोमपाल कामीले बलिङ गरे । उनले पहिलो ओभरमा ५ बल डट फाले पनि एक बलमा भने जुवाओले छक्का प्रहार गरे ।
त्यस्तै दोस्रो ओभर कप्तान पारस खड्का आफै बलिङ गर्न आए तर यो ओभर नेपालका लागि निकै महंगो सावित भयो । पारसले एकै ओभरमा १६ रन दिए । त्यस्तै तेस्रो ओभर सोमपालले १८ रन खर्चिए । चार ओभरको समाप्तिमा जिम्बावेले ५१ रन बनाएको छ ।
कुनै पनि फर्म्याटको क्रिकेटमा नेपालले जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको टेष्ट मान्यताप्राप्त टोली जिम्बावे नेपाली टोलीका लागि कठिन चुनौति हो ।
जिम्बावेको टोलीमा लामो समयदेखि खेलिरहेका ब्रेण्डन टेलर, ह्यामिल्टन मासाकाद्जा, सिकन्दर राजा, ग्रेम क्रिमरजस्ता खेलाडी छन् । यता नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य छ । हालै सम्पन्न डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली उच्च लयमा छ ।
जिम्बावेलाई घरेलु मैदानको साथ हुनेछ भने पहिलो खेलको प्रदर्शनले समग्र प्रतियोगितामै असर पर्ने भएकाले जिम्बावेविरुद्ध उत्रँदा नेपाली टोली सजग बन्नुपर्ने देखिन्छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले ठूला टोलीलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्ने बताएका छन् । आईसीसीसँग कुरा गर्दै उनले भनेका छन् कि, ‘हामी यो स्तरमा पुग्दा निक्कै उत्साहित छौं, डिभिजन टू पनि हाम्रा लागि कठिन थियो त्यसलाई छिचोलेर हामी यहाँ आएका छौं र त्यो भन्दा अझै राम्रो क्रिकेट खेल्ने लक्ष्यमा छौं ।’
‘ठूला टिमहरुसँग खेल्दा प्रेसर त अवश्य पनि बढी भइहाल्छ, तर, जस्तोसुकै टिमँग पनि कम्पिट गर्न सक्छौं भन्ने विश्वास हामीसँग छ’, कप्तान पारसले अघि भने ।
नेपाली टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले पनि नेपाली टोलीले दवाव नलिइ खेल्दा नतिजा आफ्नो पक्षमा आउने बताए । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोट खेलेका उनले त्यस अनुभव सुनाउँदै भने, ‘हामीले न्युजिल्याण्डमा असफलता ब्यहोर्नुका धेरै कारणहरुमध्ये एउटा बढी महत्वाकांक्षी भयौं कि भन्ने लाग्छ, त्यसैले टिमलाई मेरो सुझाव यो छ कि अहिलेको प्रतियोगितामा खेल्ने सबै टोली हाम्रै स्तरका छन् र उनीहरुसँग खेल्दा एक पछि अर्को खेलमा राम्रो गर्दै नतिजा ल्याउनुपर्छ, हामीले धैर्य गर्नुपर्छ’
नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । क्रिकेटर खकुरेलले पनि सुपर सिक्समा पुग्दा नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता पाउने र स्तरोन्नतिका लागि त्यसले अहम भूमिका खेल्ने धारणा राख्छन् ।
समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
