काठमाडौँ । नेकपा एमाले र माओवादीका सांसद एकै मञ्चमा जुट्ने मौकामा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका प्रहरीकै पूर्व डीआइजी एवं एमाले सांसद नवराज सिलवाल पनि संसद भवन छिरेका छन् । तर उनी प्रहरीबाट पक्राउ भने परेनन् । यो समाचार तयार पार्दासम्म पनि माननीय संसदको हैसियतमा उनी अन्य सांसद सरह संसद भवनमै छन् ।
प्रहरीले अभियुक्तको सूचिमा राखेर खोजी गरिरहेका सिलवाल शनिबार बानेश्वरस्थित संसद भवनमा देखिएका हुन् ।
एमाले र माओवादीका सांसदका लागि राखिएको संयुक्त प्रशिक्षणमा सांसद हैसियतले सिलवाल पनि त्यहाँ पुगेका हुन् ।
प्रहरीको खोजी सूचिमा रहेका सिलवाल प्रहरीकै कडा सुरक्षा घेरा पार गरेर संसद भवनमा प्रवेश गरेका हुन् ।
संघीय संसदमा निर्वाचित दुई पार्टीका सांसदहरुको संयुक्त बैठक तथा प्रशिक्षण नयाँ बनेश्वरस्थित संसद भवनमा राखिएको हो ।
पार्टी एकीकरणको घोषणा पछि दुई पार्टी अध्यक्ष र पूर्व सभामुखहरूले प्रशिक्षित गर्ने कार्यक्रमका लागि सांसदहरू एकै हलमा भेला भएका हुन् ।
पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले सांसदहरूलाई संसदमा कसरी प्रस्तुत हुने र संसदको भुमिका कसरी निर्वाह गर्ने भन्नेबारे प्रशिक्षण दिने कार्यक्रम छ । पूर्व सभामुख सुवास नेम्वाङ र ओनसरी घर्तीले संसदीय अभ्यासका बारेमा अनुभव राख्ने कार्यक्रम रहेको छ । नेम्वाङले संघीय संसदको अभ्यास र सांसदहरूको भुमिकाबारे विशेष प्रशिक्षण प्रस्तुत गर्नेछन् ।
सोमबारदेखि संघीय संसदको बैठक सुरू हुँदैछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
