स्याङ्जा । विद्यार्थी आन्दोलनबाट सुरु भएको तुलसीराम रेग्मीको राजनीतिक यात्रा चार दशक पार गर्दै स्थानीय तहको नेतृत्वसम्म आईसकेको छ। बहुदलीय प्रजातन्त्रका लागि भएका आन्दोलनदेखि नेपाली कांग्रेसको संगठन निर्माण हुँदै उनि अहिले नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ उम्मेदवार रहेका छन्।
वि.सं. २०३६/३७ को विद्यार्थी आन्दोलनबाट राजनीतिक चेतना विकास गर्नुभएका रेग्मीले २०३७ सालमा शितला माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको प्रचारप्रसारमा सक्रियता देखाएका थिए। त्यसक्रममा उनि विद्यालयबाट निष्कासन तथा कारबाहीमा परेका थिए। २०३९ सालमा स्वर्गीय गोपालमान श्रेष्ठबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएपछिउहाँको पार्टी राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्यो।
२०४२ सालको सत्याग्रह आन्दोलन र २०४६ सालको जनआन्दोलनमा सक्रिय रहेका रेग्मी २०४६ सालको आन्दोलनका क्रममा पक्राउ परी करिब १५ दिन हिरासतमा बसेका थिए। त्यसयता उहाँ नेपाली कांग्रेसको संगठन निर्माण र विभिन्नजिम्मेवारीमा निरन्तर सक्रिय रहेका थिए। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सचिव, जिल्ला सदस्य, जिल्ला सचिवहुँदै क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालेका रेग्मी पार्टी संगठनमा लामो अनुभव बोकेका नेता हुन।
पार्टी संगठनसँगै स्थानीय तहको नेतृत्वमा समेत उनले जिम्मेवारी पाए।वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा १२हजार ४ सय ९४ मत प्राप्त गर्दै पुतलीबजार नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका रेग्मी हाल सोही जिम्मेवारीमा छन्। विद्यार्थी आन्दोलन, लोकतान्त्रिक संघर्ष, पार्टी संगठन र स्थानीय तहको नेतृत्व हुँदै अघि बढेको यही राजनीतिक यात्रासहित रेग्मी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा खुलातर्फ उम्मेदवारी दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
