नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा युवा नेता अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। युवा उमेरमै पार्टीको स्थानीय तहको नेतृत्व सम्हाल्दै ढकाल गण्डकी प्रदेशकै कान्छो कांग्रेस गाउँपालिका सभापति बनेका छन्।ढकालको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको हो। कक्षा ९ मा अध्ययनरत छँदा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका उनले २०६७ साल कात्तिक २६ गते तत्कालीन कांग्रेस सभापति तथा नेता स्वर्गीय सुशील कोइरालाको हातबाट पार्टीको साधारण सदस्यता लिएका थिए।
त्यसयता पार्टी संगठनसँगै स्थानीयवासीका सुख–दुःखमा जोडिँदै आएका ढकालले विभिन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाईजिताउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। गाउँमै रहेर संगठन निर्माण र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनलाई यसपटक आँधीखोलाको नेतृत्वको जिम्मेवारी दिइएको हो। सर्वसम्मत निर्वाचित भएपछि ढकालले आफूलाई प्राप्त जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रूपमा लिएको बताए। उनले पार्टीका अग्रजको अनुभव र युवाको ऊर्जालाई एकीकृत गर्दै संगठनलाई थप सुदृढ बनाउने बताएका छन्।
“गाउँका दाजुभाइ, दिदीबहिनी र अग्रजहरूको दुःख–सुखमा निरन्तर साथ दिँदै गर्दा आज मलाई जुन जिम्मेवारी र विश्वास सुम्पिनुभएको छ, त्यसका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु,” उनले भने, “पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई एकसाथ जोडेर समृद्ध आँधीखोला र सम्मानित आँधीखोलावासी बनाउने मेरो मुख्य संकल्प रहनेछ।” ढकालले आँधीखोलामा कांग्रेस संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र अनुशासित बनाउँदै नागरिकको भरोसायोग्य संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको चयनसँगै आँधीखोलाको कांग्रेस नेतृत्वमा युवा पुस्ताको प्रवेश रभूमिकाबारे पनि चर्चा सुरु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
