स्याङ्जामा युवाको आवाज : सपनाबाट समृद्धिको बाटो खोज्दै
‘युवाको कुरा, युवाको आवाज’मा सीप, संघर्ष र सिर्जनाका कथा : युवाले देखाए सम्भावनाको नयाँ स्याङ्जा
कसैका आँखामा उद्यमको सपना थियो, कसैका हातमा माटोको सुगन्ध, कसैको स्वरमा अध्यात्मको उज्यालो त कसैकोपसिनामा खेल मैदानको संघर्ष। फरक–फरक क्षेत्र, फरक अनुभव र फरक यात्रा बोकेका स्याङ्जाका युवाहरू एउटै मञ्चमाउभिएर आफ्ना कथा सुनाउँदै गर्दा एउटा साझा सन्देश गुञ्जियो। सम्भावनाको खोजीमा सधैं टाढा जानुपर्दैन, आफ्नै ठाउँलाई नयाँ आँखाले हेर्न सक्नुपर्छ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा पहिलो पाइला नेपाल, पुतलीबजार शाखाको समन्वयमा आयोजित ‘युवाको कुरा, युवाको आवाज’ कार्यक्रममा शिक्षा, कृषि, उद्यमशीलता, व्यवसाय, खेलकुद, अध्यात्म, सामाजिक सेवा तथा विद्यार्थी क्षेत्रका युवाहरूले आफ्ना अनुभव, संघर्ष, सिकाइ र सम्भावनाकाआयाम प्रस्तुत गरे।
कार्यक्रम औपचारिक मन्तव्यमा सीमित नरही युवाले भोगेका चुनौती र स्याङ्जाको भविष्यप्रतिको आफ्नै दृष्टिकोण प्रस्तुत गर्नेसाझा मञ्च बन्यो। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले युवाको प्रतिभा, क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणसँग जोड्नुपर्ने बताए। पहिलो पाइला नेपालका अध्यक्ष पवन मरासिनीले सिर्जनशील सोच, सकारात्मक कर्म र जिम्मेवार नेतृत्वमार्फतयुवाको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कृषि क्षेत्रका विमान अर्याल, युवा पण्डित प्रशान्त ढकाल, महिला युवा उद्यमी अन्जु शर्मा रेग्मी, क्रिकेट प्रशिक्षक दिवाकर थापा, योगासनखेलाडी प्रिया घर्ती, समाजसेवी स्मृति काफ्लेलगायतले आ–आफ्नो क्षेत्रका अनुभव सुनाउँदै मेहनत, निरन्तरता र अवसरको सदुपयोगबाट नेपालमै सम्भावना सिर्जना गर्न सकिने सन्देश दिए। कार्यक्रममा महादेव श्रेष्ठ, अशोक शर्मा, कमला पराजुली, प्रसन्नता पौडेल र निश्चल लम्सालले पनि विभिन्न क्षेत्रका सम्भावनाबारे धारणा राखे।
कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश दिएको छ। युवा भविष्यका लागि पर्खिने शक्ति होइनन्, वर्तमान बदल्ने ऊर्जा हुन्।उनीहरूको सीपलाई अवसर, सपनालाई योजना र योजनालाई कार्यान्वयनसँग जोड्न सके स्याङ्जाको विकासले नयाँ गति लिन सक्छ। एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत पार्वती भट्टले गरिन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
