नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने गरी सरकारले दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन्। स्वदेशमा रोजगारी तथा आयआर्जनका पर्याप्त अवसर सिर्जना गर्न सके मात्रै बढ्दो युवा पलायनलाई रोक्न सकिने उनको भनाइ छ।
उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धि गर्न विद्यालय तहदेखि नै प्राविधिक तथा व्यावसायिक सीपलाई शिक्षासँग जोड्नुपर्ने बताए। सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सामग्री निर्माण, प्रोग्रामिङलगायत क्षेत्रमा युवालाई आवश्यक सीप प्रदान गर्न सके नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारका लागि काम गर्ने वातावरण बनाउन सकिने उनले बताए।
‘प्रतिस्पर्धात्मक विश्वमा अहिले सीप सबैभन्दा महत्वपूर्ण कुरा हो। प्राविधिक सीपलाई प्राथमिकतामा राखेर युवालाई तालिम दिन सक्यौँ भने उनीहरूले विश्व बजारमा प्रतिस्पर्धा गरेर आफ्नो जीविकोपार्जन गर्न सक्छन्,’ उनले भने।
बाँनियाका अनुसार नेपालमा बसेर अन्तर्राष्ट्रिय बजारमा काम गर्न चाहने युवाले अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्ने, आवश्यक सफ्टवेयर तथा अनलाइन सेवा प्रयोग गर्ने र आफ्ना उत्पादन तथा सेवा विश्व बजारमा पुर्याउने क्रममा विभिन्न नीतिगत तथा कानुनी समस्या सामना गरिरहेका छन्। यस्ता अवरोध हटाएर युवालाई विश्व बजारसँग जोड्ने वातावरण बनाउन सरकार केन्द्रित हुनुपर्ने उनले बताए।
युवा राजनीतिक शक्ति मात्र होइन, आर्थिक पूँजी
बाँनियाले युवालाई राजनीतिक परिवर्तनका लागि प्रयोग हुने शक्तिका रूपमा मात्र नभई मुलुकको आर्थिक विकासको महत्वपूर्ण पूँजीका रूपमा हेर्नुपर्ने बताए। युवाको क्षमता विकास गरी उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा परिचालन गर्न सके मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ।
उनले युवा, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै नयाँ उद्यमीलाई अनुभवी व्यवसायीले मार्गदर्शन गर्नुपर्नेमा जोड दिए। कृषि, पर्यटन, खाद्य उद्योग तथा सूचना प्रविधिजस्ता क्षेत्रमा प्रविधिको प्रयोगमार्फत नयाँ व्यवसाय र रोजगारी सिर्जना गर्न सकिने उनले बताए।
‘व्यवसाय जटिल र चुनौतीपूर्ण विषय हो। अनुभवी उद्यमीले नयाँ पुस्तालाई चुनौतीभित्र रहेका सम्भावना देखाइदिनुपर्छ,’ उनले भने।
स्थानीय तहबाटै डिजिटल अवसर सिर्जना गर्नुपर्ने
बाँनियाले एआई तथा डिजिटल प्रविधिको प्रयोगमार्फत स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने बताए। स्थानीय तहले युवालाई एआई, डिजिटल सामग्री निर्माण, मल्टिमिडिया, पोडकास्ट तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सीप दिनुपर्ने उनको सुझाव छ।
स्थानीय पर्यटन, संस्कृति, खानाका परिकार तथा धार्मिकस्थललाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके त्यसबाट युवाले आम्दानी गर्ने र स्थानीय अर्थतन्त्रसमेत चलायमान बन्ने उनले बताए।
उनले युवासम्बन्धी सरकारी नीति अझै सहर केन्द्रित रहेको भन्दै कार्यक्रमलाई ७५३ वटै स्थानीय तह, वडा र गाउँस्तरसम्म पुर्याउनुपर्ने बताए। स्थानीय सरकारलाई आवश्यक स्रोत, सीप र अधिकार उपलब्ध गराएर समुदायस्तरमै सीप विकास केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ छ।
युवाको जनसांख्यिक अवसर उपयोग गर्नुपर्ने
बाँनियाका अनुसार नेपालको कुल जनसङ्ख्यामा १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४२।५६ प्रतिशत रहेको छ। यस्तो जनसांख्यिक अवस्थालाई मुलुकको आर्थिक विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले बताए।
युवाको राजनीतिक प्रतिनिधित्व बढ्नु सकारात्मक भए पनि त्यसलाई रोजगारी, शिक्षा, सीप विकास, उद्यमशीलता र आर्थिक अवसर सिर्जना गर्ने नीतिमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ। अहिलेको जनसांख्यिक अवसर सधैँ कायम नरहने भएकाले सरकारले यही समयमा युवाकेन्द्रित दीर्घकालीन नीति बनाउनुपर्ने उनले बताए।
रोजगारी सिर्जना नगरी विदेश जाने क्रम रोक्न कठिन
बाँनियाले स्वदेशमा निश्चित आम्दानी र रोजगारीको अवसर सुनिश्चित नभएसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन कठिन हुने बताए। विदेशमा सीप र पूँजी आर्जन गरेका नेपालीलाई स्वदेश फर्किएर लगानी गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ।
विदेशबाट फर्किएका युवाले कृषि, पर्यटन, उद्योग तथा अन्य क्षेत्रमा लगानी गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सके त्यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई आफ्नो रुचि र आवश्यकताअनुसार तत्काल सीप सिक्न आग्रह गर्दै बाँनियाले प्रविधिको विकाससँगै निरन्तर सिकाइ आवश्यक रहेको बताए। सरकारको नीतिगत सहजीकरण, निजी क्षेत्रको अनुभव र स्थानीय तहको प्रभावकारी परिचालनबीच समन्वय हुन सके युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने पुस्ताका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
