४४ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली लेखक सङ्घ स्याङ्जाले आयोजना गरेको ‘बिपी विचार गोष्ठी तथा काव्यउत्सव–२०८३’ मा वक्ताहरूले बिपी कोइरालाका लोकतान्त्रिक विचार, अभिव्यक्ति स्वतन्त्रता र साहित्यिक चेतना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा सहभागी थिए। प्रा.डा. वासुदेव भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए भने ध्रुवप्रसाद शर्मा पङ्गेनीले टिप्पणी गरेका थिए। कार्यक्रममा यामप्रसाद अधिकारी (लक्ष्मण), विष्णु सुवेदी गैह्रे, पशुपति पौडेल, कमल पौडेल ‘अथक’ र मिलन समीरले बिपीका विचारको समकालीन महत्त्वबारे धारणा राखेका थिए।
कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘बिपी काव्य उत्सव–२०८३’ मा स्याङ्जाका दर्जनौँ स्रष्टाले आफ्ना सिर्जना वाचन गरेका थिए। सो अवसरमा प्रा.डा. कुसुमाकर न्यौपानेलाई विशेष सम्मान गरिएको थियो भने प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव गुरुप्रसाद ढकालले कार्यक्रम सञ्चालन र मिलन समीरले कार्यक्रम संयोजन गरेका थिए।
साहित्य, लोकतान्त्रिक चेतना र अभिव्यक्ति स्वतन्त्रतालाई एकै मञ्चमा जोड्दै सम्पन्न कार्यक्रमले बिपी कोइरालाको वैचारिक विरासतलाई नयाँ पुस्तामाझ पुनः स्मरण गराएको सहभागीहरूको धारणा थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
