रोजीरोटीको माध्यम बनेको अटो (टेम्पो) जब मानव सेवाको अभियानमा गुड्न थाल्छ, त्यसले केवल यात्रु मात्र होइन, आशा र भरोसा पनि बोकेर हिँड्छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ स्थित पुष्प–चन्द्र ट्रष्टले गरिब, अशक्त तथा बिरामी नागरिकलाई लक्षित गर्दै प्रत्येक सोमबार र मंगलबार निःशुल्क अस्पताल सवारी सेवा सञ्चालन गरेको छ।
ट्रष्टको समन्वयमा अटो चालक मुनिन्द्र मान श्रेष्ठ र विशाल शेरचनले आफ्नो निजी अटोलाई सामाजिक सेवामा समर्पित गर्दै बिरामीलाई जिल्ला अस्पताल, कुमाल गाउँसम्म निःशुल्क पुर्याउने अभियान सुरु गरेका हुन्। सेवा सञ्चालनको जानकारीसम्बन्धित अटोमै सूचना टाँसेर समुदायसम्म पुर्याइएको छ। यस अभियान अन्तर्गत हरेक सोमबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मुनिन्द्र मान श्रेष्ठले बाडखोला, गैरीखेत, लामागे, प्रगतिनगर, देवीथान तथा स्याङ्जा बजार क्षेत्रबाट जिल्ला अस्पतालसम्म निःशुल्क सेवा प्रदान गर्नेछन्।
त्यसैगरी हरेक मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म विशाल शेरचनले लामपाटा, तोरीखोला, हल्लेखोला, कुलबाँध, बिसौना, बिर्ता लगायत पुतलीबजार–१३ का विभिन्न बस्तीहरूबाट बिरामीलाई निःशुल्क रूपमा जिल्ला अस्पतालपुर्याउनेछन्। “हाम्रो कर्तव्य–हाम्रो अनुशासन, तपाईंको सेवामा समर्पण” भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानले “मानव सेवा नै श्रेष्ठ सेवा हो”भन्ने सन्देशलाई व्यवहारमा उतारेको छ। उपचारका लागि यातायात खर्च जुटाउन कठिनाइ हुने नागरिककालागि यो सेवा ठूलो राहत बन्ने विश्वास गरिएको छ।
पुष्प–चन्द्र ट्रष्टले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, अन्य अटो तथा यातायात व्यवसायी, उद्योगी–व्यवसायी र सामाजिक अभियन्ताहरूलाई पनि यस्ता मानवीय अभियानमा हातेमालो गर्न ट्रष्टलेआह्वान गरेको छ। स्थानीयवासीले समाजमा उदाहरणीय सन्देश दिएको यस अभियानको प्रशंसा गर्दै यस्ता निःस्वार्थ सेवाले सामाजिक उत्तरदायित्व र मानवताप्रतिको विश्वास अझ बलियो बनाउने बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
