स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका–१ विष्णुपधेरामा रहेको गोकर्णेश्वर शिवालय मन्दिरमा गत जेठ १४ देखि२० गतेसम्म सञ्चालन गरिएको पुरुषोत्तम मास महिमा कथा एवं सांगीतिक प्रवचन कार्यक्रमको आयव्यय सार्वजनिकगरिएको छ। शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको आर्थिक विवरण अनुसार प्रवचनबाट १९ लाख ३० हजार १ सय ५३ रुपैयाँ आम्दानी भएको छ भने ९ लाख २ हजार ९ सय १५ रुपैयाँ खर्च भएको छ। खर्च कटाउँदा १० लाख २७ हजार २ सय ३८ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ। उक्त बचत रकम मन्दिरको स्तरोन्नति, समयानुकूल निर्माण तथा बहु आयामिक धार्मिक उद्यान निर्माण लगायतका योजनामा खर्च गरिने जानकारी दिइएको छ।
गोकर्णेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति र शान्ति आमा समूहको आयोजनामा सम्पन्न साताव्यापी प्रवचनमा लोकप्रिय युवा पण्डित प्रशान्त ढकालले कथा वाचन गरेका थिए। कार्यक्रममा स्याङ्जाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्ला र भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए। धार्मिक आस्था, भक्ति, सांगीतिक भजन तथा विविध प्रस्तुतीका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
शनिबार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा सदस्य ढाकाराम सुवेदीले आयव्यय विवरण प्रस्तुत गरेका थिए। सचिव राधा अर्यालले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने अध्यक्ष रंगनाथ रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।समापनका अवसरमा अध्यक्ष रेग्मीले पुरुषोत्तम मास कथा तथा सांगीतिक प्रवचन कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण दानदाता, श्रद्धालु भक्तजन, स्वयंसेवक, सहयोगी संस्था, सञ्चारकर्मी तथाप्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
