युवराज पौडेल/स्याङ्जा माघ १६,नेपाली काङ्ग्रेस स्याङ्जामा युवा नेताका रुपमा परिचित भागवत् प्रकाश मल्ल स्याङ्जा काङ्ग्रेसका समकालीन प्रभावशाली नेताहरुमध्ये एक मानिन्छन् । उनको राजनीतिक पृष्ठभूमिका रुपमा बाबु गजेन्द्र मल्लको प्रेरणा उनलाई परेको देखिन्छ ।
पिता गजेन्द्र मल्ल स्वयम् काङ्ग्रेसको राजनीतिमा जिल्ला कार्यसमितिका विभिन्न पदहरुमा रहेर पार्टीलाई आर्थिक तथा राजनैतिक योगदान दिनुभएको थियो । जिल्लाका ठुलाठुला विकासका पूर्वाधारहरु निर्माणमा समेत गजेन्द्र मल्लको योगदान उल्लेखनीय छ ।
बाबुको प्रभाव परेका कारण भागवत् प्रकाश मल्लमा पनि सानैदेखि सामाजिक र राजनैतिक संस्कार विकसित भएको पाइन्छ । वि स २०३३ सालमा स्याङ्जाको दूरदराज मानिने शेखाममा उहाँको जन्म भएको हो ।
वि स २०४८ सालमा नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा होमिएका मल्ल २०५१ देखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभयो । नेपाल विद्यार्थी सङ्घ हुँदै राजनीतिमा अगाडि बढेका मल्ल वि स २०७२ सालदेखि नेपाल तरुण दल स्याङ्जाको अध्यक्ष हुँदै आउनुभएको छ ।
तरुण दलको नेतृत्व गर्ने क्रममा पनि मल्लले युवाहरुलाई एकताबद्ध बनाउँदै सामाजिक कामहरुमा संलग्न बनाउनुभयो । खेलकूद परोपकार सरसफाइ वृक्षारोपण जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै युवा सशक्तीकरणमा मल्लको विशेष भूमिका रह्यो ।
खेलकूदमा विशेष रुचि भएका मल्लले जिल्लाका विभिन्न युवा क्लबहरुलाई आर्थिक रुपमा समेत सहयोग गरी खेल क्षेत्रमा अगाडि बढाउने काम गर्नुभयो । युवाहरुमा खेलका माध्यमबाट एकताबद्ध बनाउँदै उनीहरुमा लोकतान्त्रिक चेतना भर्ने काममा समेत मल्लको विशेष योगदान रहेको छ ।
हिजो आज पालिका तथा जिल्लाकै नेतृत्व गर्ने दलका नेताहरुसमेत जिल्लामा नबस्ने रोग झाङ्गिएका बेला मल्ल एक त्यस्ता उदाहरणीय नेता हुन् जसले आजसम्म जिल्ला छाडेको छैन । उनी स्याङ्जामा नै बस्छन् । वि सं २०७४ सालको आमनिर्वाचनमा एमाले र माओवादी मिलेर निर्वाचनमा होमिएका थिए । दुई तिहाइ जनमत ल्याउने उद्देश्यसहित एकतामा सामेल भएका एमाले र माओवादीको स्याङ्जामा पनि ठुलै प्रभाव नहुने कुरै थिएन ।
नभन्दै स्याङ्जामा प्रतिनिधि सभाका दुवै सिट र क्षेत्र नं २ ख बाहेक तत्कालीन गठबन्धनले क्लिन स्वीप गरेको थियो। यस्तो अवस्थामा पनि स्याङ्जाको २ नं क्षेत्रको प्रदेश २ बाट भागवत् प्रकाश मल्लले प्रदेश सदस्यका रुपमा विजय हासिल गरेर आफ्नो लोकप्रियता प्रमाणित गरे ।
गण्डकी प्रदेश सदस्यका रुपमा रहँदा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सरकार निर्माणमा अहम् भूमिका खेलेका मल्लले गण्डकी प्रदेश सदस्यका रुपमा स्याङ्जाका थुप्रै विकास निर्माणका आयोजनाहरु पार्ने र सम्पन्न गर्ने कुरामा दिलो ज्यानले लाग्नुभयो ।
स्याङ्जामा मल्लले सहयोग नगरेका युवा क्लब आमा समूह र संगठन विरलै होलान् । चापाकोट गल्याङ कालीगण्डकी र वालिङलाई मुख्य कर्मथलो बनाएर उनले पदमा हुँदा वा नहुँदा जनताको सेवा गरिरहे ।
जिल्लाका सिंचाइ खानेपानी सडक लगायत विभिन्न पूर्वाधार निर्माणमा मल्लको आफ्नै योगदान छ । वि स २०७८ सालमा काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै दुई पटक महासमिति सदस्य समेत रहेका मल्ल युवा बालक वृद्ध सबै उमेरका मानिसहरुका बिचमा लोकप्रिय छन् ।
धेरै नबोल्ने भाषणमा भन्दा काममा विश्वास गर्ने मल्ल सरल स्वभावका नेता हुन् । उनलाई पदमा हुँदा समेत मञ्च प्यारो भएन । मञ्चमा आसन ग्रहण खोज्ने भाषण गर्न नदिए रिसाएर हिँड्ने खालको स्वभाव उनले कहिल्यै देखाएनन् । प्राय मञ्चमा भन्दा तल जनतासँग बस्न रुचाउने मल्ल देश बिग्रनुको कारण भाषण बढी गर्ने र गर्न नसक्ने कुरा बोल्ने भएको धारणा राख्छन् ।
उनी भन्छन् ‘हामीले जे कुरा गर्न सकिन्छ त्यतिमात्र गर्छु भन्ने हो । म सबै गरिदिन्छु भनेर जनतालाई ढाँटेर राजनीति गर्दा नै देश बिग्रेको हो । कसरी सकिन्छ जनताको इमानदारीपूर्वक सेवा गर्ने हो । भाषणले देश बन्ने भए उहिल्यै बनिसक्थ्यो । अब मुलुकलाई परिणाममुखी काम चाहिएको छ ।’
एउटा कुरा निश्चित के हो भने प्रकाश मल्ल जिते पनि हारे पनि स्याङ्जाका जनताका बिचमै रहन्छन् । आर्थिक रुपमा पोखरा वा काठमाडौंमा बस्न सक्ने हैसियत भए पनि उनका लागि स्याङ्जा नै प्यारो छ । उनलाई यहीँका जनताका बिचमा निरन्तर भेटघाट सुखदुःखमा सहभागी हुन पाउँदा आनन्द लाग्छ ।
उनलाई स्याङ्जाका माटो, ढुङ्गा, खोलानाला र प्रकृतिका अंशअंशले चिन्छ । उनलाई कुन बाटोमा कहाँनेर के को रूख छ, कहाँ कस्तो ढुङ्गा छ त्यो दिमागमै सेट छ । यसबाट उनी जनताका बिचमा कति पुगेका छन् स्पष्ट हुन्छ ।
मर्दापर्दा जन्ती मलामीका रूपमा उनले स्याङ्जाका प्रत्येक नागरिकसँग वैयक्तिक रूपमै भावनात्मक सम्बन्ध कायम गरेका छन् । सुखमा भन्दा दु:खमा बढी जनताका बिचमा पुग्ने मल्ल झुपडी र गाउँबस्तीका नेता हुन् । गाउँकै ढिंडो, रोटी भुटेका मकै खाएर बस्तीमा रमाउने नेताका रूपमा उनी जनताका बिचमा भिजेका छन् ।
यसभन्दा अगाडिको २०७९ को निर्वाचनमा पार्टीले उनलाई प्रदेश सांसदको टिकट दिएको थियो तर उनले नयाँलाई अवसर दिनुपर्ने भन्दै पार्टीकै युवा नेता महेश भट्टराईलाई अगाडि बढाए ।
स्याङ्जाको यही क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेसका पूर्व उपसभापति धनराज गुरुङले नेकपा एमालेकी सचिव पद्मा अर्याललाई हराएका थिए जुन राष्ट्रिय रुपमा नै चर्चामा थियो ।
धनराज गुरुङले निर्वाचन जित्नुमा भागवत् प्रकाश मल्लको ठूलो भूमिका रहेको काङ्ग्रेसकै नेताहरुले विभिन्न सन्दर्भमा बताउने गरेका छन् । हाल आसन्न फाल्गुण २१ को सङ्घीय निर्वाचनमा स्याङजा जिल्ला क्षेत्र नं. २, नेपाली काङग्रेसको तर्फबाट प्रतिनिधि सभाको उमेदवार भएका भागवत प्रकाश मल्ललाई काङ्ग्रेसको बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
