गल्याङ नगरपालिका प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । स्याङ्जाको मालेबगरमा जारी प्रतियोगितामा समूह चरणका दुवै खेल जित्दै गल्याङ सेमिफाइनल प्रवेश गरेको हो । गल्याङले शुक्रबार भएको खेलमा आधिखोला गाउँपालिकालाई ८ विकेटले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो । पहिला ब्याटिङ गरेको आधिखोलाले दिएको १ सय २१ रनको विजयी लक्ष्य पछ्छाएको गल्याङले खेलको १३ ओभरमा नै १ सय २३ रन ल्याएर जित दर्ता गरायो । गल्याङका लागि दिपक प्रसाद डुम्रेले ४ छक्का र ३ चौकाको मद्धतले ३० बलमा ४६ रन बनाएका थिए । यस्तै, सन्दिप खत्रीले ३ छक्का र १ चौकाको मद्दतले ३१ तथा इसान पाण्डेले ५ चौका प्रहार गर्दै २५ रन बनाएका थिए । गल्याङका लागि दिपक डुम्रेले २, इसान पान्डे, सन्दिप खत्री, विपिन खत्री, तुलसीराम भण्डारीले समान १/१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको आधिखोलाका लागि गोविन्द वि क ले ३ छक्का र ६ चौकाको मद्धतले ५५ बलमा अर्धसतक पार गर्दै ६३ रन बनाएका थिए भने प्रभिन लामिछानेले २४ बलमा २१ रन बनाएका थिए । आधिखोलाका रिजन काफ्लेले २ विकेट लिएका थिए । यो खेलमा गल्याङका दिपक डुम्रे मेन अफ दि म्याच घोषित भए ।
यसैगरी शुक्रबार सम्पन्न दोस्रो खेलमा पुतलीबजार नगरपालिकाले एकतर्फी खेल बनाउदै १ सय ९१ रनको फराकिलो अन्तरले बिरुवा गाउँपालिकालाई पराजित गरेको छ । पहिले ब्याटिङ गरेको पुतलीबजारले खेलमा एकछत्र खेल प्रदर्शन देखाउदै निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै बिरुवाका लागि २६९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पुतलीबजारका लागि अश्विनी रानाले अलराउन्ड प्रदर्शन गर्दै ५ छक्का र १२ चौका प्रहार गर्दै सतक पार गरे । उनले ५९ बलमा १ सय ९ रनको योगदान दिए । खेलमा अमृत क्षेत्रीले १२ चौकाको मद्धतमा अर्धसतक पार गरे । उनले ४० बलमा ६५ रन बनाए । यस्तै, सुधान्सु गुरुङले ४६ रन जोडेका थिए ।
पुतलीबजारका लागि दर्शन शाहिले ३, प्रकाश क्षेत्री र सौजन्य रेग्मीले समान २/२ विकेट लिए ।
निर्धारित २० ओभरको खेलमा १७ ओभरमै अलआउट हुँदै बिरुवा गाउँपालिका जम्मा ७८ रनमा समेटियो । बिरुवाका लागि कृष्ण खड्काले ३६ बलमा २१ रन जोडेका थिए भने स्वप्निल लम्सालले ३१ बलमा २३ रन जोडेका थिए । बिरुवाका लागि स्वप्निल लम्सालले २ विकेट लिएका थिए । यो खेलमा पुतलीबजारका अश्विनी राना मेन अफ दि म्याच घोषित भए ।
यो प्रयियोगितामा वालिङ नगरपालिकाले समूह चरणका दुवै खेलमा जित दर्ता गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ भने फेदिखोला र भिरकोट यसअघि नै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको परामर्शमा माघ २ देखि सुरु भएको यो प्रतियोगिता माघ १४ सम्म चल्नेछ । चौथो दिनको पहिलो सत्रमा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई र दोस्रो सत्रमा बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुवरले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
