प्रथम खुमा अर्याल कप अन्तर्गत आइतबार सम्पन्न खेलमा वालिङ र गल्याङ विजयी भएका छन । स्याङ्जाको मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिगमा आइतबार भएको दोस्रो तथा समूह चरणको पाँचौ खेलमा फेदिखोला गाउँपालिकालाई ९ विकेटले पराजित गर्दै वालिङ नगरपालिकाले दोस्रो जित दर्ता गराएको हो ।
फेदिखोलाले दिएको ८२ रनको विजयी लक्ष्य पछछाएको वालिङले खेलको १० दशमलब २ ओभरमै मात्र १ विकेटको क्षतिमा भेट्टाएको थियो । वालिङका लागि सुजन गौतमले नट आउट १ छक्का र ८ चौकाको मद्धतले ३६ बलमा ५१ रनको योगदान दिए । वालिङका लागि अङ्कित न्यौपाने र सुजन गौतमले समान ४/४ विकेट लिएका थिए भने मिलन लुइटेलले २ विकेट लिएका थिए । यसअघि ब्याटिङ गरेको फेदिखोलाले निर्धारित २० ओभरको खेलमा १८ ओभर मै अल आउट हुँदै जम्मा ८१ रन बनाएको थियो । यो खेलको मेन अफ दि म्याच वालिङका सुजन गौतम भए । वालिङको यो दोस्रो जित हो भने फेदिखोलाको दोस्रो हार हो ।
यस्तै, यसअघि बिहान सम्पन्न पहिलो तथा समूह चरणको चौथो खेलमा भिरकोट नगरपालिकालाई १२ रनले पराजित गर्दै गल्याङ नगरपालिकाले रोमान्चक जित हात पारेको छ । सुरुवाती ब्याटिङमा उत्रिएको गल्याङले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो । गल्याङका लागि राजेश बस्यालले ३४ बलमा २५ रन बनाएका थिए भने अभिषेक भट्टराईले १९ बलमा २१ रन जोडेका थिए । गल्याङका लागि सन्दिप खत्रीले ३, तुलसीराम भण्डारी र दिपक प्रसाद डुम्रेले समान २/२ र विपिन खत्री र सम्योग बस्यालले समान १/१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको भिरकोटले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा अल आउट हुँदै जम्मा ९२ रन मात्रै जोड्न सक्यो । भिरकोटका लागि अनुज चनराले ३ छक्का र ३ चौकाको मद्धतले १६ बलमा ३४ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले राम्रो अंकको योगफल तयार गर्न सकेनन । भिरकोटका लागि अजुन भन्डारीले ३, प्रतीक श्रेष्ठले २ र अनुज चनरा, साजन गुरुङ र दिपेश क्षेत्रीले समान १/१ विकेट लिएका थिए । यस खेलको म्यान अफ दि म्याच गल्याङका सन्दिप खत्री भए । समूह चरणको पहिलो खेल खेलेको गल्याङका लागि यो पहिलो जित हो भने भिरकोटका लागि दोस्रो हार हो ।
प्रतियोगिताको उपाधी विजेताले विभिन्न बहुमुल्य रत्न जडित रनिङ शिल्ड कप सहित नगद २ लाख रुपियाँ र ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै, प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा तृतिय र सान्त्वना टिमले क्रमश नगद १ लाख र ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा प्लेयर अफ दि म्याज र बेस्ट प्लेयर पुरस्कार लगायत विधागत अन्य पुरस्कारको समेत व्यवस्था छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको परामर्शमा माघ २ देखि सुरु भएको यो प्रतियोगिता माघ १४ सम्म चल्नेछ । तेस्रो दिनको खेलमा फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
