उग्र बन्दै एनआरएनए विवादः घले र केसीले गरे छुट्टाछुट्टै महाधिवेशन घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद दिनप्रतिदिन उग्र बन्दै गएको छ । विश्वभरका गैरआवासीय नेपालीको साझा दावी गर्दै आएको संस्थाका पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टाछुट्टै मिति तोकेपछि विवाद झन् बढेको हो । एक अर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । जसले संस्थालाई विभाजनतिर लगेको जानकार बताउँछन्।

१०औँ महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत चैत २१ गते परमादेश जारी गर्दै एकताको महाधिवेशन गर्न घले नेतृत्वको १३ सदस्यीय समितिलाई जिम्मेवारी दिएको थियो। तर, कृष्णप्रसाद तिमल्सिनासहित टिमको अर्को रिटमा सुनुवाइ गर्दै सोही अदालतले गत साउन २२ मा केसी नेतृत्वको कमिटीलाई काम गर्न बाटो खुलाइदिएको थियो । त्यससँगै यो टिमले आफूलाई आधिकारिक दाबी गर्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ ।

Advertisement

पूर्वअध्यक्ष घलेले चाहिँ आफूले गराउने महाधिवेशन आधिकारिक हुने जिकिर गर्दै सोहीअनुसार महाधिवेशन मिति घोषणा गरेका छन्। उनले विभिन्न देशमा रहेका शाखा (एनआरएनएको भाषामा एनसीसी) लाई सर्कुलर पठाएर महाधिवेशन प्रक्रिया सुरु भएको जनाएका छन्।

समितिको गत आइतबार सम्पन्न पाँचौँ बैठकबाट कार्यविधि पारित गरी सबै एनसीसीलाई सर्कुलर पठाइएको सदस्य विनोद कुँवरले बताए।जसमा एनसीसीको निर्वाचन गर्ने तालिकालगायत विषय समेटिएको छ। काठमाडौँमा भौतिक उपस्थितिका साथै प्रत्यक्ष मतपत्रद्वारा दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने र त्यसका लागि माहौल बनाउन सर्कुलरमा भनिएको छ।

More News last news
Loading...