टोरन्टो । ब्राम्पटनका शिशिर आचार्यले १० लाख डलरको चिट्ठा (साढे ९ करोड नेपाली) जितेका छन्। क्यानाडाका नेपालीले जितेको सम्भवत: यो नै हालसम्मको सबैभन्दा ठुलो धनराशीको चिट्ठा हो। गत डिसेम्बर ३ मा भएको लोट्टो म्याक्स ड्रमा आचार्यले म्याक्समिलियन्स पुरस्कार जितेका थिए। चिट्ठा खोलिएको भोलिपल्ट अन्टारियो लटरी एण्ड गेमिङ कर्पोरेशन (ओएलजी) एपमा आफ्नो टिकट स्क्यान गर्दा आफुले जितेको उनले थाहा पाएका थिए।
“म के देखिरहेको छु भनेर पहिला विश्वासै लागेन। मैले चिट्ठालाई सात वा आठ पटक स्क्यान गरेर हेरें होला”, उनलाई उद्धृत गर्दै ओएलजीको समाचार विज्ञप्तिमा उल्लेख गरिएको छ। “पेटमा काउकुति लागेको जस्तो भयो र मेरो मुटुको धड्कन बढ्यो। मैले आफूलाई शान्त पार्न ध्यान गर्ने प्रयास गरें, तर पनि रातभर निदाउनै सकिन।” लजिस्टिक क्षेत्रमा कार्यरत तीन सन्तानका बुबा आचार्य लामो समयदेखि नियमित चिट्ठा किन्ने गर्थे। यस अघि चिट्ठामा उनले सबैभन्दा धेरै एक हजार डलर पुरस्कार जितेका थिए।
“जब चिट्ठा जितेको कुरा मैले मेरी श्रीमतीलाई सुनाएँ, खुशी र उत्साहका आँसु खसे,” आचार्यले मुस्कुराउँदै भने, “अव आफ्नो घर किन्ने सपना सम्भव भएको थाहा पाएर हामीले राहतको पनि महसुस गर्यौं।” उनले आगामी दिनमा पनि नियमित चिट्ठा किन्ने उल्लेख गर्दै भने, “चिट्ठा किनिएन भने पुरस्कार पनि पर्दैन।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
