काठमाडाैं | काठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना मुद्दामा तीन दिन हिरासत बसेर रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेश बमोजिम लामिछानेले बैंक ग्यारेन्टी बुझाएका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए । बैंक ग्यारेन्टी बुझाएसँगै रविलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ। लामिछाने आइतबार बिहान आफैं अदालत उपस्थित भएका थिए ।
आइतबार बयान भएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई हिरासत पठाएका थिए। सोमबार सरकारी वकिलको पक्षबाट बहस भएको थियो। मंगलबार बिदा भएकोले रविका पक्षबाट बुधबार बहस भएको थियो । बुधबार नै सरकारी वकिलको पक्षबाट जवाफी बहस भएको थियो। बहस सकिएपछि बुधबार अपरान्ह न्यायाधीश अधिकारीले धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।
सहकारी ठगीको अनुसन्धानका सिलसिलामा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। ८४ दिन हिरासत बसेपछि लामिछाने पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका थिए। काठमाडौं जिल्ला अदालतबाट पनि धरौटीमा रिहा भएका लामिछानेविरुद्ध प्रहरीले रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ । सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा चितवन र पर्सामा पनि प्रहरीले अभियोजन दर्ताको तयारी गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
