उपनिर्वाचन मतगणना अपडेट : स्वतन्त्र पार्टीले खोल्यो खाता, कहाँ को विजयी ?

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले खोल्यो खाता

Advertisement

पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् ।

नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।

तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपा निर्वाचित

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।

गढीमाई नगरपालिका–८ मा एकीकृत समाजवादीको जित

रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ४६८ मत प्राप्त गरेका थिए, भने एमालेका थापा ३०१ मा सीमित बने ।

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै एमाले विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् ।

ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीको अग्रता कायमै
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतमणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेस विजयी

तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गरेका छन् ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् ।

माओवादीको प्रभाव क्षेत्र सानीभेरी–५ मा कांग्रेस विजयी

आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । माओवादीको प्रभाव क्षेत्र मानिने भएपनि सो स्थानमा सोही पार्टी पराजित बनेको हो ।

बझाङको सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जित

सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे।

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे।

उपचुनाव : कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेस विजयी

कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी हुनुभएको हो । एमालेका हर्ष महर्जनले ४ सय ९८ मत र नेकपा माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । यसअघिको चुनावमा पनि त्यहाँ कांग्रेस नै विजयी भएको थियो ।

ईशनाथ नगरपालिका ७ मा कांग्रेस विजयी

ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले छ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।

More News last news
Loading...