काठमाण्डाै । उडान अनुमति नलिई काठमाण्डाै आएको थाई एअर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाण्डाै आएको विमानलाई अवतरण गर्न दिएर प्राधिकरणले कारबाही गरेको हो ।
झन्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एअर एशियाको उडान तत्कालका लागि निलम्बन गरिनुका साथै नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ।
सूचना अधिकारी भूलले थाई एअर एशियाको विमानको शनिवारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिनुभयो। ‘विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ’, उहाँले भन्नुभयो, ‘यात्रुको सुरक्षा र मानवीयता कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालका लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ।’
विशेष चार्टर्ड उडान अनुमति पाएको याे विमानले काठमाण्डाैबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ । थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।
प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको हिउँद तालिका बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एअर एशियाले गएकाे असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान शुरू गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
