काठमाडौँ । नेपालले द हङकङ क्रिकेट सिक्सेस प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार नेपालले यस वर्ष हुने द हङकङ क्रिकेट सिक्सेस प्रतियोगितामा सहभागिता जनाउने भएको हो।
नेपाल सहभागी हुने पक्का भएपनि कस्तो टोली पठाउने भन्ने बारे भने कुनै निर्णय भइनसकेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। “हङकङ क्रिकेट सिक्सेसमा नेपालले पहिलो पटक भाग लिने छ । लामो इतिहास भएको प्रतियोगितामा सहभागी हुन पाउनु खुसी विषय हो। पालबाट कस्तो टोली सहभागी गराउने भन्ने बारेमा हामी पछि जानकारी गराउनेछौं ।” उनले भने।
के हो द हङकङ क्रिकेट सिक्सेस प्रतियोगिता ?
हङकङ क्रिकेट सिक्सेस एक रोमाञ्चक सिक्स-ए-साइड अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। यसमा विश्वभरबाट ८ देखि १२ टोली सहभागी हुने गर्छन्। सहभागी टोलीमा ६ खेलाडी हुन्छन्। विकेटकिपर बाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्छन। वाइड र नो बललाई दुई रन गन्ने नियम यस प्रतियोगिताको छ। विशेष गरेर यस प्रतियोगिता अलराउन्डरका लागि उपयुक्त हुने गर्छ।
५ ओभर पूरा हुनु अघि पाँच खेलाडी आउट भएको खण्डमा अन्तिम खेलाडीले क्रिज सम्हाल्ने अवसर पाउँछन्। ६ ओभर नसकिए सम्म ती खेलाडीले ब्याटिङ गर्न पाउँछन्। प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म हुनेछ । प्रतियोगिताको साविक विजेता दक्षिण अफ्रिका हो । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
