यहि साताबाट गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै

लगत संकलनको काम जारी

भरतपुर । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ। भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो।

धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत संकलनको काम सुरु गरिएको छ। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो।

Advertisement

फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिए। उनले भने, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन्।”

रंगशाला निर्माणस्थलमा रहेको झाडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उनले बताए। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताए। प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने छ ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो। अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको बताए।

More News last news
Loading...