८ सयको सट्टा २ हजार जना केयरगिभर लैजाँदै इजरायल

काठमाडौँ । इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । हाल ८ सय जना लैजानेगरी आवेदन प्रक्रिया अघि बढेको छ । तर, अब इजरायलले ८ सयको सट्टा दुई हजार जना लैजाने सहमति भएको हो । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदेरबिच भएको भेटवार्तामा उक्त सहमति भएको छ ।

इजरायलले हाल ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक गरी ८ सय जना नेपाली श्रमिकलाई इजरायल लैजाने भनेको थियो । तर, सोमबार भेटपछि उक्त सङ्ख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जना लैजान सकिनेगरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ।

Advertisement

थप लैजाने भनिएका कामदारहरूको हकमा समेत अहिले आह्वान भएको आवेदन प्रक्रियाबाटै अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । हाल ८ सय जनाका लागि ६ हजारभन्दा बढीको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

तिनैबाट छनौट गरेर छनोट भएका उम्मेदवारहरूलाई लैजानेगरी दुई पक्षबिच सहमति भएको हो। भेटको क्रममा आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इजरायल लैजान सकिने बारेमा पनि छलफल भएको थियो ।

भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल इजरायलबिचको श्रम सम्बन्धका बारेमा विचार व्यक्त गर्दै इजरायल प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका विपिन जोशीका विषयमा समेत चासो व्यक्त गरेका थिए। उनको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा पहल गरिदिन मन्त्री भण्डारीले अनुरोध गरेका थिए।

More News last news
Loading...