समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुनःगठनबारे प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो।

बैठकपछि जानकारी गराउँदै प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताउनुभयो। उहाँले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समँजवादी पार्टी मिसिएको बताउनुभयो।

Advertisement

मल्लले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको र नेताहरुले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताउनुभयो। उहाँले नेताहरुले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताउनुभयो।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो।

More News last news
Loading...