मोरङ । “उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मूल नाराका साथ प्रदेश युवा सम्मलेन २०२४ कोशी प्रदेशको मोरङ जिल्लामा शुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा आजदेखि मोरङको कटहरी गाउँपालिका स्थित जीवन विकास समाजको हलमा शुरु भएको सम्मेलन आगामी जेठ १४ गतेसम्म सञ्चालन हुने छ ।
कार्यक्रमको औपचारिक उद्घाटन आईतबार कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले गर्नेछन् । युवा जागरण र शशक्तिकरणका कार्यमा सक्रिय परिषद्का सात वटै प्रदेशका कार्यक्रममा एनसेलले सहकार्य समेत गरेको छ ।
कोशी प्रदेशको १४ वटै जिल्लाका युवाहरु सम्मिलित सम्मेलनको उद्देश्य युवाहरुलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउनका लागि उद्यमशीलता विकास, जलवायु परिवर्तन लगायतका विषयमा विषयगत सेसन सञ्चालन हुने नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाले बताए ।
‘दिगो विकास लक्ष्य प्राप्ति, सिप विकास, सुशासन, आन्तरिक पर्यटन प्रवर्द्धन, रैथाने कृषि उत्पादन एवं स्थानीय कला संस्कृति संरक्षण, कृषिमा आधारित पेशाको विकास र महिला सशक्तिकरणका विषयगत कार्यक्रमहरूको माध्यमबाट हामीले युवाहरुलाई उत्प्रेरित गर्ने छौँ’, अध्यक्ष बानियाले भने ।
३ दिनसम्म चल्ने सम्मेलनमा कोशी प्रदेशको १४ वटै जिल्लाबाट सहभागीहरु छनोट गरिएको छ, जसमा दलित, आदिवासी, जनजाति, मधेसी, थारू, अल्पसंख्यक, सीमान्तकृत समूह, अपाङ्गता, मुस्लिम, पिछडिएको वर्ग, एलजीबीटी लगायतका उत्पीडित र पिछडिएका क्षेत्रहरूका प्रतिनिधिहरूलाई समावेश गरेका छौँ।
सम्मेलनमा दिगो विकास लक्ष्यको लागि वकालत गर्दै एक राम्रो विश्वको लागि युवा अभियान, युवा उद्यमशीलताको सृजना सम्भावना र रचनात्मकताको प्रवर्द्धन, जलवायु कार्यमा युवा संलग्नता, निति निर्माण तहमा युवाको भूमिका, युवासँग सांसद, दिगो पर्यटनको पहल प्रवर्द्धनमा युवा नेतृत्व एवं सफलताका कथा समेत गरी एक दर्जन बढी विषयगत प्रस्तुतिकरण एवं अन्तक्रियात्मक सेसन रहने अध्यक्ष बानियाले जानकारी दिए ।
१४ जिल्लाको समावेशी प्रतिनिधित्व रहेको सम्मेलनमा जीवन्त युवा सांस्कृतिक साँझसंगै रैथाने एवं परम्परागत खाना परिकारहरुको प्रदर्शनी र रैथाने खाद्यान्नको बीउ खेती प्रदर्शन पनि गरिने नेपाल युवा परिषद कोशी प्रदेशका संयोजक अभय मगरले बताए । साथै सहभागीले प्रादेशिक कार्य योजना निर्माण गरी मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश योजना आयोगलाई बुझाउने योजना पनि रहेको प्रदेश संयोजक मगरले बताए ।
नेपाल युवा परिषदले सन् २०१२ मा स्थापना भएदेखि नै युवा उद्यमशीलता, दिगो विकास लक्ष्य, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, वातावरण, नेतृत्व, मिडिया र डिजिटल साक्षरतामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। साथै, राष्ट्रिय र प्रादेशिक युवा सम्मेलनहरू मार्फत देशभरिका युवाहरूलाई सहभागी गराउँदै उनीहरूलाई नेतृत्वदायी भूमिकामा उभ्याउँदै आएको छ।
यसअघि ३ प्रदेशमा युवा सम्मेलनको सम्पन्न गरिसकेको परिषद्ले आगामी भदौंमा राष्टिय युवा सम्मेलन गर्ने गरी तयारी गरिएको अध्यक्ष बानियाँले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
