पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल विजयी भएको छ । पार्टीको एघारौं अधिवेशनबाट पदाधिकारीमा खगराज समूहले ‘क्लिन स्विप’ नै गरेको छ । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।
अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट अध्यक्षमा पाँच सय ५१ मत प्राप्त गर्दै अधिकारी विजयी भएका हुन् । उनीसँगै प्रतिस्पर्धा गरेका माधव बास्तोलाले तीन सय ४७ मत प्राप्त गरे । अध्यक्षमा विवेक त्रिपाठीले पनि प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १७ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा भेषराज बराल पाँच सय २७, सचिवमा दर्शन लामा पाँच सय ९५, उपसचिवमा लालबहादुर परियार पाँच सय ८१ मत प्राप्त गरी विजयी भए । यस्तै उपसचिव महिलामा पाँच सय १० मतका साथ सन्तुदेवी सुवेदी विजयी भएकी छन् ।
अध्यक्षमा विजयी भएका अधिकारीले विजयीको नारा जुलुस नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो नितान्त पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कुनै नारा जुलुस नगर्न निर्देशन दिएका हुन् ।
उनले यो चुनावलाई सामान्य रुपमा लिन आग्रह गर्दै निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
